झापा गोल्डकपको उपाधि मच्छिन्द्र क्लबले जित्यो
थानकोट ।
मच्छिन्द्र फुटबल क्लबले सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई ३–१ गोलले पराजित गर्दै मच्छिन्द्रले आफ्नो दोस्रो सहभागितामा पहिलो पटक झापा गोल्डकपको उपाधि जितेको हो ।
उपाधि जितेको मच्छिन्द्रले नगद १५ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ७ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । खेलको ३१ औँ मिनेटमा मच्छिन्द्रले अग्रता बनाएको थियो । मच्छिन्द्रका स्ट्राइकर प्रदीप बुढाथोकीले विदेशी खेलाडी अयोला हमजातको पासमा गोल गरेका थिए । विपक्षी पोस्टको बायाँ बार च्याप्दै गरेको उनको प्रहार गोलमा परिणत भएको थियो ।
एपीएफमाथि पहिलो हाफमा लगातार दबाब कायम राखेको मच्छिन्द्रले अर्काे गोल पहिलो हाफको ४५औँ मिनेटमा गरेको थियो । देवेन्द्र तामाङको लामो प्रहारलाई मच्छिन्द्रका फ्रयाङ्क अनोह गोल गर्न सफल भएका थिए । खेलको ८३औँ मिनेटमा मच्छिन्द्रले अर्काे गोल थप्यो । मच्छिन्द्रका अयोला हमजातको कर्नर प्रहारमा डिफेण्डर अलिसन अलिजोनोभले गोल गर्न सफल भएका थिए ।
पहिलो हाफमा २–० गोल अन्तरले पछाडि परेको एपीएफले दोस्रो हाफमा मच्छिन्द्रमाथि दबाब बढाएको थियो । खेलको ८२औँ मिनेटमा एपीएफले एक गोल फर्काएको थियो । विश्वास उदासको फ्रिकिकलाई मच्छिन्द्रका डिफेण्डरले क्लियर गर्न नसकेको बललाई एपीएफका दिपेश धिमालले सुन्दर गोलमा परिणत गरेका थिए ।
खेलको ७६औँ मिनेटमा एपीएफ १० खेलाडीमा सीमित भयो । डिफेन्डर मानबहादुर रानामगर दोहोरो पहेँलो कार्डका कारण रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि एपीएफले खेलमा दबाबको सामना गरेको थियो ।
फाइनल खेलको प्लेयर अफ द म्याच विजेता टिम मच्छिन्द्रका प्रदिप बुढाथोकी भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका पेमा तामाङ भए । उनले यामाहा कम्पनीको एक थान मोटरसाइकल पाए ।
बेस्ट गोलकिपर मच्छिन्द्रका विशाल श्रेष्ठ, बेस्ट कोच मच्छिन्द्रकै प्रवेश कटवाल, हाई स्कोरर मच्छिन्द्रका जोनाथन जोरिल्ला भए । उनीहरूले जनही ३५ हजार रुपैयाँ र ट्रफी पाए ।
प्रतियोगितामा टिकट लिएर फुटबल हेर्ने दर्शकमध्ये गोला प्रथाबाट बिर्तामोडकी प्रिती मोक्तानले यामाहा कम्पनीको एक थान स्कुटर जितिन् । यसैबीच, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य नरोत्तम गौतमलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । प्रतियोगितामा घरेलु टोली झापा–११ सहित भुटान, भारत र मलेसियाको गरी १० टिमको सहभागिता थियो । झापा गोल्डकप २०७२ सालदेखि सञ्चालन हुँदै आएको छ ।


















