धनगढी पुगेका रास्वपा वरिष्ठ नेता बालेनले सुनाए यस्ता एजेन्डा

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेशको चौतर्फी विकास र सांस्कृतिक एकीकरणलाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाउने घोषणा गरेको छ ।

बुधबार धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन वरिष्ठ नेता बालेन्द्र शाहले सुदूरपश्चिमको सपना पूरा गर्ने ऐतिहासिक दायित्व रास्वपाले लिने बताए । पार्टीले विपन्न र गरिब नागरिकका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचारलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेको उनको भनाइ छ ।

खल्तीमा पैसा नभएका कारण कोही पनि नागरिक आधारभूत सेवाबाट वञ्चित हुन नहुने भन्दै बालेनले विकास निर्माणका कार्यमा हुने ढिलासुस्ती र राजनीतिक पूर्वाग्रहको आलोचना गरे । सडक पूर्वाधारको प्रसंगमा पार्टीले २० वर्षसम्म पनि नबन्ने सडकहरूलाई डेढ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको उनको भनाइ छ ।
विकासमा दलगत भेदभाव नगरी कांग्रेस, एमाले र माओवादीलगायत सबै दलका समर्थक र आम नेपाली जनता हिँड्ने बाटो निर्माण गर्ने प्रतिवद्धता जनाए । सुदूरपश्चिमको पर्यटन र प्राकृतिक सम्पदाको प्रवर्द्धनमा जोड दिँदै उनले बडिमालिका, रामारोशन र खप्तड जस्ता क्षेत्रहरूको महत्त्वमा ध्यान दिनुपर्ने बताए ।

‘देशलाई स्विट्जरल्यान्ड बनाउने’ पुरानो नाराभन्दा पनि यहाँको मौलिकतालाई विश्वसामु चिनाउनु पर्ने र सुदूरपश्चिमलाई काठमाडौंसँग सांस्कृतिक रूपमा जोड्नुपर्नेमा उनले जोड दिए ।

यस्तो छ बालेनको भनाइ :

खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्‍यो त्यो हाम्रो एजेन्डा, खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनुपर्‍यो त्यो हाम्रो एजेन्डा । दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्‍यो त्यो हाम्रो एजेन्डा । रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ, बाटो बन्नुपर्‍यो । यहाँ त बाटो बनाउनलाई यो भेगमा मेरो भोट छैन यहाँको बाटो किन बनाउने, यो भेगमा मेरो भोट छैन किन बाटो बनाउने, राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए भने कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ । सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ ।

मान्छेले देशलाई स्विट्जरल्यान्ड बनाउनुपर्छ भन्छन्, स्विट्जरल्यान्डको बाउ बडिमालिका यहीँ छ किन बनाउनुपर्‍यो स्विट्जरल्यान्ड ? स्विट्जरल्यान्डको पराकाष्ठा रामारोशन यहीँ छ किन बनाउनुपर्‍यो स्विट्जरल्यान्ड ? खप्तड नेशनल पार्क यहीँ छ किन बनाउनुपर्‍यो स्विट्जरल्यान्ड ? हामी नेपालीहरू माल भएर चल्न नपाएका मान्छेहरू पर्‍यौँ । भएको चिज देखाउनै सक्या छैन । सुदूरपश्चिमलाई जोड्नै सक्या छैन । सुदूरपश्चिम त्यो दिन जोडिन्छ जुन दिन सुदूरपश्चिममा एकदम धेरै कलाकार हुनुहुँदोरहेछ । लाख सब्स्क्राइबर भएको, १ मिलियन सब्स्क्राइबर भएको तर त्यो गीत काठमाडौंको चोक चोकमा बज्दैन । जुन दिन सुदूरपश्चिमको गीतहरू काठमाडौंको चोक चोकमा बज्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौँसँग । सुरुमा त गीत बज्नुपर्‍यो त्यसपछि आवाज बज्छ त्यसपछि माग पूरा हुन्छ ।

सुन्दा सानो जस्तो लाग्छ तर, त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा । सुदूरपश्चिमलाई सु–नजिक पश्चिम बनाउनुपर्‍यो, राष्ट्रिय स्वतन्त्र पार्टीको त्यो एजेन्डा । तपाईंहरूलाई आज यहाँ आएर भेट्न पाइयो धेरै खुसी लागेको छ । म धेरै बोल्ने मान्छे होइन, राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंहरूसँग यहाँ भोट माग्न आएको होइन काम माग्न आएको हो, काम दिनुस् है ।तपाईंहरूले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ । काम माग्न आएको हो के-के छ तपाईंहरूको काम हाम्रो उमेदवारहरूलाई हाम्रा पार्टीका मान्छेहरूलाई हाम्रो काम यो हो भनेर लिस्ट दिनु । भोट नदिए पनि हुन्छ बरु कामको लिस्ट दिनु, काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *