काँग्रेस र एमालेबाट ३२३ जना नेता तथा कार्यकर्ता नेकपामा प्रवेश

Thankot Times

थानकोट ।

बाह्रबिसे क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले शक्ति प्रदर्शन गरेको छ ।

बाह्रबिसे बजारमा बिहीबार आयोजित कार्यक्रममार्फत काँग्रेस र एमालेबाट ३२३ जना नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेको दाबी पनि नेकपाले गरेको छ ।

काँग्रेस नेता मोहन बस्नेतको प्रभाव क्षेत्रका रूपमा चिनिँदै आएको बाह्रबिसेमा एकै कार्यक्रममा ठूलो संख्यामा प्रवेश गराइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

भोटेकोशी, बाह्रबिसे, लिसंखुपाखर, बलेफी र जुगल क्षेत्रका युवाहरू कार्यक्रममा सहभागी भएका थिए।

नवप्रवेशीहरूलाई प्रतिनिधिसभा क्षेत्र नं। १ का नेकपा उम्मेदवार माधव सापकोटा ‘सुबोध’ले खादा लगाएर स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले नवप्रवेशीहरूलाई उचित जिम्मेवारी दिइने प्रतिबद्धता जनाए। उनले क्षेत्र नं. १ मा आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै त्यसलाई जोगाउन प्रतिस्पर्धी दलहरूप्रति संयमित र सहिष्णु रहन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

चुनाव परिचालन कमिटीका संयोजक केशव नेपालले उम्मेदवारको प्रतिबद्धता र कार्यक्षमताका आधारमा सापकोटा उत्कृष्ट विकल्प रहेको बताए । युवा नेता सरल सहयात्रीले सक्षम र काम गरेर प्रमाणित नेतृत्वलाई जिताउन तारा चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

संविधान सभा सदस्य राजकुमार श्रेष्ठले पनि तारा चिन्हमा मत हालेर नेकपाको विजय सुनिश्चित गर्न अपिल गरे। केही समयअघि एमाले परित्याग गरी नेकपामा प्रवेश गरेका बाह्रबिसेका पूर्वमेयर तथा नेकपा केन्द्रीय सदस्य निमफुन्जो शेर्पाले आफूलाई एमालेमा अपमानित गरिएको दाबी गर्दै पार्टी परिवर्तनको कारण स्पष्ट पारेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *