चन्द्रागिरि नगर जोड्दै साइकल सर्किट बनाउने मेयर्स फोरमको निर्णय, कार्यान्वयन कति सहज ?
थानकोट ।
काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ उपत्यकामा साइकल लेन निर्माण गर्ने भएको छ ।
काठमाडौँ उपत्यकाका १८ वटै नगरपालिकालाई एकीकृत रूपमा साइकल लेनबाट जोड्न साइकल लेन निर्माण गर्ने निर्णय भएको हो ।
उपत्यका मेयर्स फोरम बैठकले उपत्यकामा बस्ती बढ्दै गरेको सन्दर्भमा सबै नगरपालिकामा पक्की सडक सञ्जाल भएकाले मोटरसाइकलभन्दा साइकल अझ बढी प्रभावकारी हुने भएकाले साइकल लेन निर्माण गरी स्मार्ट सिटी अवधारणा अनुसार अगाडि बढ्ने निर्णय गरेको हो ।
यस अन्तर्गत पहिलो चरणमा बुढानीलकण्ठको शिवपुरीडाँडादेखि काठमाडौँ र ललितपुर महानगर हुँदै गोदावरीको बोटानिकल गार्डेनसम्मको ‘रुट’ तय गरिएको छ । उपत्यका मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले उपत्यकामा साइकल लेन अभावमा साइकल प्रयोग हुन नसकेको भन्दै साइकल लेन निर्माण गरेपछि मोटरसाइकलको तुलनामा साइकलयात्री वृद्वि हुँदै जाने बताए ।
महर्जनले यसलाई ‘सो–केस प्रोजेक्ट’ का रूपमा अघि बढाउन मास्टर प्लान तयार पार्ने निर्णय भएको जानकारी दिए । सरकारसँग साइकल लेनसम्बन्धी कानुन तत्काल निर्माण गर्न अनुरोध गर्दै यो परियोजना सफल भएपछि अन्य पालिकामा पनि विस्तार गरिने फोरमको योजना छ ।


















