काठमाडौं प्रशासनले भन्यो- घरमै मनाऔँ फागु, सांगीतिक कार्यक्रम नगरौँ
थानकोट ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसपालिको फागु/होली पर्व घर कम्पाउन्डभित्रै मनाउन आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बिहीबार (फागुन १४) सूचना प्रकाशन गरी होलीका अवसरमा सार्वजनिक स्थानमा भीड नगर्न आग्रह गरेका हुन् ।
“खुला सडक, सार्वजनिक स्थानमा भेला भई भीड जम्मा गर्ने, मेला-महोत्सव गर्ने, मञ्च बनाई सांगीतिक कार्यक्रमहरू गर्ने, मादकपदार्थको बिक्री वितरण तथा सेवन गर्नेजस्ता कार्यहरू र निर्वाचन आचारसंहिता प्रतिकूलका गतिविधि नगर्न/नगराउन समेत सम्बद्ध सबैलाई जानकारीको लागि अनुरोध छ,” सूचनामा उल्लेख छ ।
प्रशासनले आ-आफ्नो घर कम्पाउन्डभित्र अरू कोही कसैलाई बाधा नपर्ने गरी आफन्त, परिवारजन, साथीसँगीसँग यो पर्व मनाउन सकिने स्पष्ट पारेको छ ।
“शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादकपदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छाविपरीत रङ एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ दल्ने, अति उत्तेजित भई भागदौड गर्नेजस्ता अमर्यादित कार्य नगर्न/नगराउन सबैमा अनुरोध छ,” सूचनामा भनिएको छ ।
होलीमा निर्वाचन चिह्न र उमेदवारका तस्बिरअंकित पोसाक प्रयोगमा पनि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।
“कोही कसैले यस्ता अमर्यादित, उच्छृंखल, अवाञ्छित एवम् गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही भई जाने व्यहोरा समेत सूचित गरिएको छ,” सूचनामा उल्लेख छ ।


















