आईसीसी टी-२० विश्वकप क्रिकेट: इंग्ल्यान्डद्वारा न्युजिल्यान्ड पराजित
थानकोट ।
आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–एटमा हिजो भएको खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई ४ विकेटले हराएको छ ।
श्रीलंकाको कोलम्बोमा एक सय ६० रनको लक्ष्य इंग्ल्यान्डले ३ बलअघि ६ विकेट गुमाएर भेट्टायो ।
टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो ।
न्युजिल्यान्डले यो खेल जितेको भए सेमिफाइनलमा पुग्ने थियो ।
तर, अब टोली पाकिस्तान र श्रीलंकाबीच आज हुने समूह–२ को सुपर–एट खेलको नतिजा पर्खनुपर्नेछ ।
तालिकामा न्युजिल्यान्डको ३ र पाकिस्तानको १ अंक छ भने श्रीलंका पहिलो दुवै खेलमा पराजित भइसकेको छ ।
पाकिस्तानले श्रीलंकालाई ६४ रनले पराजित गरे वा श्रीलंकाले दिएको लक्ष्य १३ ओभर १ बलभित्र पूरा गरेमा न्युजिल्यान्डलाई नेट रनरेटमा उछिन्न सक्छ ।
इंग्ल्यान्डले ‘सुपर एट’ मा लगातार तेस्रो खेल जितेको छ । इंग्ल्यान्ड सेमिफाइनल पुगिसकेको छ ।
प्रतियोगिताअन्तर्गत आज शनिबार सहआयोजक श्रीलंकाले पाकिस्तानको सामना गर्नेछ । यो खेल साँझ ७ः१५ बजे सुरु हुनेछ ।

















