नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि सात कम्पनी प्राविधिक छनोटमा सफल
थानकोट ।
नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि प्राविधिक छनोटमा सात कम्पनी छनोटमा परेका छन् ।
प्राविधिक रूपमा छनोट हुने कम्पनीहरूमा काष्ठमाण्डप कन्स्ट्रक्सनले जेभीका रूपमा ल्याएको गान्सु हेङटोङ रोड एण्ड ब्रिज इन्जिनियरिङ कम्पनी, डाँफे कन्स्ट्रक्सनले जेभीका रूपमा ल्याएको जियाङ्सी तियानफेङ कन्स्ट्रक्सन ग्रुप कम्पनी, समानान्तर निर्माण सेवाले ल्याएको चाइना फर्स्ट हाइवे इन्जिनियरिङ कम्पनी, वेदनश्री इन्फ्रास्ट्रक्चरले ल्याएको र्याङ्केन रेलवे कन्स्ट्रक्सन ग्रुप छन् ।
यस्तै एआरटी कन्स्ट्रक्सनले चोङकिङ युसिन रोड एण्ड ब्रिज डेभलपमेन्ट कम्पनी, ब्राइट बुल निर्माण सेवाले शान्सी रोड एण्ड ब्रिज ग्रुप कर्पोरेसन लिमिटेड र पशुपति शिवजी कन्स्ट्रक्सनले एल्सामेक्स मेन्टिनेन्स सर्भिस लिमिटेड प्राविधिक मूल्याङ्कनमा पास भएका छन्।
यी कम्पनीहरूले पेस गरेका वित्तीय बोलपत्र प्रस्ताव भने आगामी चैत १ गते खोलिने आयोजनाले जनाएको छ। यीमध्ये वित्तीय बोलपत्रमा सबैभन्दा कम रकम प्रस्ताव गर्ने र प्रक्रिया पुगेको कम्पनीले सुरुङमार्गको सञ्चालन र मर्मत सम्भारको अन्तिम जिम्मेवारी पाउनेछ।
सुरुङमार्ग निर्माण सम्पन्न भएपछि यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न र प्राविधिक मर्मत सम्भार चुस्त राख्न यो प्रक्रिया अघि बढाइएको हो।


















