भारतीय प्रधानमन्त्री मोदीलाई सम्बोधन गरेर लेखिएको भनिएको पत्र नक्कली हो : रास्वपा

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षर रहेको भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर लेखिएको भनिएको पत्र र सो सम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीले सार्वजनिक गरिएको उक्त पत्र पूर्णतः नक्कली, किर्ते र कपोलकल्पित रहेको स्पष्ट पारेको छ। दुई जिम्मेवार व्यक्तिहरूको नाम जोडेर परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा अनर्गल र आधारहीन भ्रम फैलाउनु अत्यन्तै निन्दनीय कार्य भएको पार्टीको ठहर छ।

आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिन तथा दुई देशबीचको द्विपक्षीय सम्बन्धमा खलल पुर्याउने उद्देश्यले यस्ता प्रायोजित प्रचारबाजी गरिएको स्पष्ट देखिने पार्टीले जनाएको छ।

पार्टीले सम्पूर्ण सञ्चारकर्मी, पत्रकार तथा सञ्चारगृहलाई यस्ता संवेदनशील र राष्ट्रिय महत्त्वका विषयमा समाचार सम्प्रेषण गर्नुअघि तथ्यको गम्भीर जाँचबुझ गर्न र जिम्मेवार बन्न अनुरोध गरेको छ। साथै, द्विपक्षीय सम्बन्ध र सामाजिक सद्भावमा आँच आउने खालका कुनै पनि सामग्रीलाई स्थान नदिन आग्रह गरिएको छ।

त्यसैगरी, आम सर्वसाधारणलाई पनि निर्वाचनको मुखमा फैलाइएका यस्ता फेक न्यूज र भ्रामक प्रचारको पछि नलाग्न र सचेत रहन अपिल गरिएको छ। यस्ता अवाञ्छित गतिविधि गर्नेहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको पार्टीले जनाएको छ।

‘सत्य र तथ्यको पक्षमा उभिनु हामी सबैको साझा दायित्व हो,’ अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *