उज्यालो नेपालको चुनावी सभा स्थगित
थानकोट ।
उज्यालो नेपाल पार्टीले पूर्वनिर्धारित चुनावी सभा स्थगन गरेको छ । शनिबार (फागुन १६) दिउँसो १ बजेदेखि काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा गर्ने भनिएको सभा रोकिएको हो ।
सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै तत्कालका निम्ति सभा स्थगन गरिएको पार्टीका प्रवक्ता राजु थापाले बताए । “हामीले गर्न लागेको सभामा चुनाव बिथोल्ने पक्षले पनि कार्यक्रम राखेको भन्ने थाहा पाएसँगै हामीले तत्कालको लागि सभा स्थगित गरेका हौँ,” उनले भने, “सभाको लागि सम्पूर्ण तयारी भइसकेको अवस्था थियो । कुनै अप्रिय घटना नहोस् भनेर हामीले सभा स्थागित गरेका हौँ ।”
उनले चुनाव ‘बिथोल्ने पक्ष’ भने पनि त्यसबारे विस्तृत बताएनन् । त्यसबारे कसरी थाहा भयो भन्ने पनि खुलाएनन् ।
सभाको अर्को मिति र स्थान मिलाउने कार्य भइरहेको उनले बताए । “१८ गतेसम्म हामी सभा गर्ने तयारीमा छौँ । त्यसको लागि ठाउँ खोजीकार्य भइरहेको छ,” उनले भने ।
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत यही फागुन २१ गते मतदान हुँदै छ । फागुन १८ सम्म चुनावी प्रचारप्रसार गर्न पाउने गरी निर्वाचन आयोगले समयसीमा तोकेको छ ।


















