आईसीसी टी-२० विश्वकप क्रिकेट: जितका बाबजुद पाकिस्तानको विश्वकप यात्रा सकियो
थानकोट ।
पाकिस्तान जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइलनमा पुग्न असफल भएको छ ।
पल्लेकेलेमा हिजो भएको खेलमा पाकिस्तानले घरेलु टोली श्रीलङ्कालाई ५ रनले हरायो ।
पाकिस्तानले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन मात्र बनाउन सक्यो । श्रीलङ्काका कप्तान दसुन शनाकाले नटआउट ७६ रन, पवन रथनायकेले ५८ रन बनाए । पाकिस्तानका अब्रार अहमदले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर २ सय १२ रन बनायो । पाकिस्तानका शाहिबजादा फरहानले १०० रन, फखर जमानले ८४ रन बनाए । श्रीलङ्काका दिनशान मदुशन्काले ३ विकेट लिए ।
सेमिफाइनलमा पुग्नका लागि पाकिस्तानले श्रीलङ्कालाई १ सय ४५ रनमा रोक्नुपर्ने थियो । योसँगै ‘सुपर–एट’ को समूह २ बाट न्युजिल्यान्ड नेट रनरेटमा अघि रहेर सेमिफाइनलमा पुगेको छ । श्रीलङ्का यसअघि नै बाहिरिइसकेको थियो । यो समूहबाट यसअघि इङ्ग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ ।
टी–२० विश्वकपमा आज ‘सुपर–एट’ का अन्तिम दुई वटा खेल हुँदैछन् ।
पहिलो खेलमा दिउँसो पौने ३ बजे जिम्बावे र दक्षिण अफ्रिका तथा बेलुका पौने ७ बजे भारत र वेस्ट इन्डिज खेल्दैछन् ।
यो समूहबाट दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको छ । भारत र वेस्ट इन्डिजबीचको खेलको विजेता सेमिफाइनलमा पुग्ने अन्तिम टोली बन्नेछ । जिम्बावे यसअघि नै बाहिरिइसकेको छ ।
तस्बिरः गेटी इमेजेज्

















