२० गते रातिदेखि यातायात नचल्ने

Thankot Times

थानकोट ।

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।

निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ गते साँझ पाँच बजेसम्म अत्यावश्यकबाहेकका निजी तथा सार्वजनिक सवारी सञ्चालन बन्द गरेकाले रात्रि बसहरू सञ्चालन नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

फागुन २० गते दिउँसो भने यातायात सञ्चालन हुने छन् । २० गते राति १२ बजेसम्म गन्तव्यमा पुग्न सक्ने रुटका बसहरू सञ्चालन हुने महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

२० गतेका रात्रि बसहरूको टिकट नकाटिएको पनि उहाँले बताउनुभयो । एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारीसाधन भने निर्बाध रूपमा सञ्चालन हुने छन् ।

सञ्चार गृहलगायत अन्य सवारीसाधन भने निर्वाचन आयोगबाट पास लिएर चल्न पाउने छन् । सिटौलाले भन्नुभयो, “तोकिएको समयमा मात्रै हामीले सवारी सञ्चालन गर्ने हो । नियमविपरीत सार्वजनिक सवारी सञ्चालन गर्ने कुरै भएन ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *