हिमाल कार्कीको प्रतिबद्धता मेरै प्रतिबद्धता हुन्- सभापति थापा
थानकोट ।
नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं क्षेत्र नम्बर–१० का उमेदवार हिमाल कार्कीका प्रतिबद्धता आफ्ना पनि भएको बताएका छन् । आइतबार कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभामा उनले सामाजिक सञ्जालमा नकारात्मक हल्ला फैलाइएको भन्दै ‘फिल्ड’मा कांग्रेसका उमेदवार बलियो रहेको बताए ।
“सामाजिक सञ्जालमा होहल्ला ठूलो छ । सञ्जालमा जसले नेगेटिभ बोल्यो, उसैको हल्ला हुन्छ । मैले अहिले यहाँ कसैलाई चर्को गाली गरेँ भने सामाजिक सञ्जालमा भाइरल हुन्छु,” थापाले भने, “तर, ग्राउन्ड रियालिटी अलग हुन्छ । हामीले टिकट दिएकाहरूमा जित्ने एक नम्बरमा हिमालजी हुनुहुन्छ ।”
उनले आज र भोलि मतदाताकहाँ जान नेता–कार्यकर्तालाई आग्रह गरे । सबैजना मतदातासामु पुग्न, गुनासो सुन्न र कमजोरी स्वीकार गर्दै सुधारको प्रतिबद्धता जनाउन समेत उनले आग्रह गरे ।
“जितपछि हिमालजी मेरो टिममा बसेर काम गर्नुहुनेछ । उहाँले जाहेर गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने मेरो पनि जिम्मेवारी हो,” थापाले भने, “सञ्जालमा फैलाइएको नेगेटिभिटीबाट प्रभावित नहुनुहोस्, वास्तविकताको जगमा भोट हालेर जिम्मेवार व्यक्तिलाई सदनमा पुर्याउनुहोस् ।”

















