दहचोकमा विद्यार्थी बोकेको गाडी दुर्घटना प्रकरणः घाइतेहरूको अवस्था अहिले कस्तो छ ?
थानकोट ।
चन्द्रागिरि नगरपालिका नगरपालिका-१ दहचोक क्षेत्रमा आइतबार अपरान्ह विद्यार्थी बोकेको हायस गाडी दुर्घटना हुँदा ७ जना विद्यार्थीसहित ८ जना घाइते भएका छन् ।
विद्यार्थीहरू विद्यालयबाट घर फर्कने क्रममा सो घटना घटेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरी प्रभाग बलम्बुका अनुसार बा २ ख १८९३ नम्बरको हायस सडकबाट अनियन्त्रित हुँदा सो दुर्घटना भएको हो । यद्यपी दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ ।
दुर्घटनापछि स्थानीय बासिन्दा, नेपाल प्रहरी एवं चन्द्रागिरि नगरप्रहरीको सहयोगमा घाइते विद्यार्थीहरूलाई उद्धार गरी बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पताल पुर्याइएको थियो ।
जहाँ अहिले १ जना विद्यालय सहयोगीसहित ६ जनाको उपचार भइरहेको छ । २ जना घाइते विद्यार्थीहरूको अन्यत्र अस्पताल रिफर गरिएको प्रहरी प्रभाग बलम्बुले थानकोट टाइम्सलाई जानकारी दियो ।
घाइते हुनेहरूको अवस्था सामान्य रहेको बताइएको छ । प्रहरीका अनुसार दहचोकस्थित न्यू इरा मन्टेश्वरीका विद्यार्थी सवार गाडी दुर्घटना भएको हो ।

















