भोलि खण्डग्रास चन्द्रग्रहण, काठमाडौँबाट करिब एक घण्टासम्म मात्र स्पष्ट रूपमा देख्न सकिने

Thankot Times

थानकोट ।

फागुन १९ गते मङ्गलबार साँझ नेपालका विभिन्न भागबाट खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ ।

यो ग्रहण विशेष किसिमको रहने छ किनभने चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा चन्द्रमा उदाउने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् प्रा डा जयन्त आचार्य बताउँछन् ।

आचार्यका अनुसार काठमाडौँमा साँझ ६:०४ बजे चन्द्रमाको उदय हुने छ । चन्द्रमा क्षितिजबाट माथि आउँदै गर्दा यसको आधाभन्दा धेरै भाग पृथ्वीको कालो छाँयाले ढाकिएको हुने छ । यो खगोलीय घटना काठमाडौँबाट करिब एक घण्टासम्म मात्र स्पष्ट रूपमा देख्न सकिने छ । साँझ ७:०४ बजेपछि चन्द्रमा बिस्तारै पृथ्वीको मुख्य छाँयाबाट बाहिर निस्कने छ ।

चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा चस्माको आवश्यकता पर्दैन ।

सूर्यग्रहण जस्तो यसले आँखालाई असर नगर्ने हुनाले नाङ्गो आँखाले खुला ठाउँबाट यसलाई स्पष्ट र सुरक्षित रूपमा हेर्न सकिने उनले बताए ।

नेपालबाट यो ग्रहणपछि अब विसं २०८४ मा मात्र खण्डग्रास सूर्यग्रहण देखिने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *