टी-२० विश्वकप क्रिकेटबाट बाहिरिएपछि प्रत्येक पाकिस्तानी खेलाडीलाई ५० लाख जरिवाना
थानकोट ।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले १०औँ आइसिसी टी–२० विश्वकपमा कमजोर प्रदर्शनका कारण राष्ट्रिय टोलीका सबै खेलाडीलाई जरिवाना गराएको छ ।
भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपमा पाकिस्तान सुपर ८ को समूह ‘२’ बाट सेमिफाइनलमा पुग्न सकेन । ६ पटक विश्वकपको सेमिफाइनल स्थान बनाइसकेको पाकिस्तानले यसपटक विश्वकप जित्ने योजना बनाएको थियो ।
खेलाडीहरूको खराब प्रदर्शनपछि पिसिबीले विश्वकप खेलेका प्रत्येक खेलाडीलाई ५० लाख पाकिस्तानी रुपैयाँ (१८ हजार अमेरिकी डलर) जारिवाना गराएको छ । पिसिबीले जरिवाना अनुशासनहीनताका कारण नभई प्रतियोगितामा कमजोर प्रदर्शनका कारण लगाएको जनाएको छ । ‘विश्वकपमा खेलाडीहरूले जुन प्रदर्शन गर्नुपर्ने थियो । उनीहरूले गर्न सकेनन् । खेलाडीहरूलाई आगामी दिनमा राम्रो प्रदर्शन गर्न निमित्त आर्थिक दण्ड लगाउने निर्णय भएको छ,’ पिसिबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले योपटक विश्वकप जित्ने लक्ष्यका साथ सहभागी भएका थियौँ ।’
विश्वकपको समूह ‘ए’मा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको थियो । पिसिबीले तत्कालै जरिवाना निर्णय गरेको हो । पिसिबीले सुपर ८ को नतिजासम्म आफ्नो निर्णय सार्वजनिक गरेन । सुपर ८ को अन्तिम खेलमा श्रीलंकालाई पाँच रनले हराए पनि रनरेटका कारण पाकिस्तान सेमिफाइनल दौडबाट बाहिरियो ।
समूह ‘२’बाट न्युजिल्यान्ड राम्रो रनरेटका कारण विश्वकपको सेमिफाइनलमा पुग्यो । यो नतिजापछि नै पिसिबीले खेलाडीलाई आर्थिक जरिवाना गराउने निर्णाय सार्वजनिक गरेको हो ।
समूह ‘ए’ खेलाडीले ६५ लाख पारिश्रमिक
पिसिबीले राष्ट्रिय खेलाडीहरूको चार समूह वर्गीकरण गरेको छ । जसअनुसार समूह ‘ए’मा रहेका खेलाडीले प्रतिमहिना बोर्डबाट ६५ लाख पाकिस्तानी रुपैयाँ पाउँछन् । यसैगरी, समूह ‘बी’का खेलाडीले ४५ लाख भारु, समूह ‘सी’मा रहेका खेलाडीले २० लाख र समूह ‘डी’का खेलाडीले बोर्डबाट प्रतिमहिना १२.५० लाख पाकिस्तानी रुपैयाँ पाउँछन् । पिसिबीले गत जुलाई २०२५ देखि जुन २०२६ सम्म केन्द्रीय सम्झौता गरेको छ । सबै खेलाडीलाई समूह ‘ए’ मा राखेको छैन्।















