काठमाडौंका मतदान केन्द्रमा पठाउन थालियो मतदान सामग्री
थानकोट ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौंका मतदान केन्द्रमा मतदान सामग्री पठाउन थालिएको छ ।
काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत मतदान केन्द्रमा आवश्यक जनशक्तिका साथै मतदान सामग्री पठाउन थालिएको हो ।
फागुन २० गते (बुधबार)सम्म सबै मतदान स्थलमा आवश्यक पूर्वाधार तयार हुने बताइएको छ ।
निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ३२० मतदानस्थल र ८१७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ ।
१० वटा निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता छन् ।
काठमाडाैं निर्वाचन क्षेत्र नं. ९ को कार्यालय चन्द्रागिरि नगरपालिका भवनमा रहेको छ भने क्षेत्र नं. १० को कार्यालय कीर्तिपुर देवढोकामा स्थापना गरिएको छ ।















