इन्धन अभावको हल्लाले काठमाडाैंका पेट्रोल पम्पमा भीड, चन्द्रागिरिको अवस्था सामान्य (भिडियो)

Thankot Times

थानकोट ।

पछिल्लो समय बजारमा इन्धनको अभाव हुन सक्ने हल्ला फैलिएपछि पेट्रोल पम्पहरूमा सर्वसाधारणको अत्यधिक भीड देखिएको छ ।

यद्यपि, निर्वाचनको समयमा गाउँ जानुपर्ने बाध्यता र भविष्यमा तेल नपाइने डरका कारण उपभोक्ताहरूले आवश्यकताभन्दा बढी इन्धन सञ्चय गर्न थालेका छन् ।

अहिले अधिकांश पेट्रोल पम्पहरूमा इन्धन भर्नेहरूको लामो लाइन लागेको छ ।

बानेश्वरस्थित ब्रदर्श पेट्रोल पम्पका कर्मचारी सागर अधिकारीका अनुसार, बजारमा फैलिएको हल्लाका कारण मानिसहरू त्रसित भएर धेरै तेल खरिद गरिरहेका छन् । “ग्राहकहरूले एक लिटर पेट्रोलियम पदार्थ हाल्ने ठाउँमा १० लिटर हाल्न थालेका छन्,” उनले भने ।

आम सर्वसाधारणहरू निर्वाचनका लागि गाउँ जाने तयारीमा रहेका छन् । इरानमा आक्रमणपछि पेट्रोलियम पदार्थ अभाव हुने डरले अधिकांशले रिजर्भ राख्न खोज्दा चाप बढेको उनले जानकारी दिए । समयमै तेल पाइने र अभाव हुने जस्तो कुनै अवस्था नरहेको पम्पका प्रतिनिधिहरू बताउँछन् ।

यस्तो छ निगमको स्पष्टोक्ति
यता, नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट पेट्रोल पम्पहरूमा देखिएको लामो लाइन इन्धन अभावका कारण नभई निर्वाचनमा मतदान गर्न जाने सर्वसाधारणको चापका कारण भएको स्पष्ट पार्छन् । “बाहिरी जिल्ला जाने मानिसहरूको संख्या बढ्दा दशैँको समयमा जस्तै पम्पहरूमा भीड देखिएको हो । यो तेल अभावको लाइन होइन,” उनले भने, “बजारमा इन्धनको अभाव हुने त्रास फैलिए पनि आपूर्तिमा कुनै समस्या छैन । पाइपलाइनबाट सिधै पर्याप्त मात्रामा तेल आइरहेको  छ ।  जति चाहे पनि किन्न सकिने अवस्था रहेको छ ।”

नेपालको भारतसँग सिधै खरिद सम्झौता रहेको र वर्षभरको अर्डर पहिले नै भइसकेकाले अन्तर्राष्ट्रिय बजारको उतारचढावले नेपालको आपूर्तिमा तत्काल असर नपर्ने उनको भनाइ छ । उनका अनुसार, भारतले नै ल्याउन नसक्ने ठूलै अप्ठ्यारो परेको खण्डमा मात्र त्यसको केही प्रभाव देखिन सक्छ, अन्यथा नेपालको आपूर्ति प्रणाली सुरक्षित छ ।

यसकारण डा. भट्ट उपभोक्ताहरूमा देखिएको यो हाहाकार केबल भ्रम र हल्लाका कारण सिर्जना भएको बताउँछन् । वास्तवमा इन्धनको उपलब्धता पर्याप्त रहेकोले पम्पहरूमा देखिएको यो अवस्थालाई मध्यनजर गर्दै अनावश्यक भण्डारण नगर्न समेत आम सर्वसाधारणलाई आग्रह गरे ।

इरानमा भइरहेका विभिन्न आक्रमण र द्वन्द्वका कारण इन्धन आपूर्तिमा समस्या पर्न सक्ने आशंका नलिन समेत कार्यकारी निर्देशक डा. भट्टले अनुरोध गरे । “अहिले पाइपलाइनबाट नियमित रूपमा इन्धन आइरहेकाले भण्डारणको खासै ठूलो समस्या छैन । पाइपलाइनमार्फत हरेक दिन इन्धन आपूर्ति भइरहेकाले उपभोक्ताहरू आत्तिनुपर्ने अवस्था छैन । यसैले कसैले पनि अनावश्यक रूपमा इन्धन सञ्चय नगर्नु होला । आपूर्ति सहज रहेकाले हल्लाको पछि लागेर तेल थुपार्नुपर्ने आवश्यकता छैन,” कार्यकारी निर्देशक डा. भट्टले थप्दै भने ।

यता चन्द्रागिरि नगर क्षेत्रमा रहेका पेट्रोल पम्पहरूमा मंगलबार थानकोट टाईम्सकर्मी पुग्दा ती पम्पहरूमा साबिककै अवस्थामा इन्धन वितरण भएको देख्न सकिन्थ्यो ।

भिडियो हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *