एमाले अध्यक्ष केपी ओलीको फेसबुक स्टाटस- दोश्रोपटक मृगाैला फेरेको फागुन २१ मै हो
थानकोट ।
देशभर मतदान चलिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जीवनका दुई संयोग स्मरण गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले बिहीबार यसबारे अवगत गराएका हुन् ।
झापा ५ का उम्मेदवारसमेत रहेका उनले झापा आन्दोलन र मिर्गौला प्रत्यारोपण भएको क्षण सम्झिएका हुन् । ओलीले आजै सुखानी शहीद दिवस भएको र ६ वर्षअघि दोस्रो पटक मिर्गाैला प्रत्यारोपण भएको बताएका छन् ।
त्यस्तै झापा आन्दोलनमा सहभागी भएकालाई एउटै जेलमा राखिएको र जेल सार्ने बहानामा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन्द राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई पञ्चायती प्रशासनले हत्या गरेको उल्लेख गरेका छन् ।
झापा आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका ओलीले ‘फागुन २१ कहिल्यै नबिर्सिने दिन’ भनेका छन् । उनको यी दुई घटनालाई सम्झिँदै ‘मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएको दिन’ भनेका हुन् । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहले ओलीलाई चुनावी टक्कर दिइरहेका छन् ।
ओलीले फेसबुकमा के लेखे ?
आज मेरो जीवनका दुई संयोगहरु भएको दिन हो । आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्।
झापा आन्दोलन, जसले निरंकुश व्यवस्थाको विरूद्ध विद्रोहको बिगुल फुकेको थियो। त्यही क्रममा हामीलाई जेल हालिएको थियो। झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो।
जेल सार्ने बहानामा हत्या गरिनलाग्दा पनि मृत्युको मुखबाट फर्केर आएको थिएँ र १४ वर्षको कठोर कारावास बिताएको थिएँ। देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका अमर शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
फागुन २१ कहिल्यै नबिर्सने दिन हो।
फाइल फोटो















