फ्लाई दुबई र एयर अरेबियाले यूएई-नेपाल उडान भर्दै
थानकोट ।
फ्लाई दुबई र एयर अरेबियाले आज साँझ र भोलि शुक्रबार बिहान यूएईबाट नेपाल उडान भर्ने भएका छन् ।
खाडीमा चर्किएको युद्धका बाबजुद पनि फ्लाई दुबई र एयर अरेबियाले आज साँझ दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट र आजै राति शारजहाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने तालिका रहेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
यस्तै, जियाद अन्तर्राष्ट्रिय विमानस्थलबाट भोलि बिहान पनि यी एयरलाइन्स कम्पनीले उडान भर्ने तालिका छ । इरान युद्धका कारण अवरुद्ध उडानहरू सीमिति मात्रामा सञ्चालन हुन थालेसँगै यी एयरलाइन्स कम्पनीले नेपालका लागि पनि उडान तालिका तय गरेका हुन् । फ्लाई दुबईले बुधबार राति पनि दुबईबाट नेपालका लागि उडान भरेको थियो ।
आंशिक रूपमा उडान सुरु भएपछि यूएईमा ट्रान्जिटमा रहेका तथा टिकट काटिसकेकाहरूलाई सम्बन्धित एयरलाइन्स कम्पनीमा बुझ्न दूतावासले आग्रह गरेको छ । साथै, एयरलाइन्सले उडानको जानकारी दिएपछि मात्र विमानस्थल जान र विमानस्थल जानुअघि एयरलाइन्स कम्पनीमा फोन गरेर यकिन गर्न पनि दूतावासले भनेको छ ।
टिकट बुक गरिसकेकाहरूले रि–सेड्युल गर्न चाहेमा सम्बन्धित एयरलाइन्सको नजिकको कार्यालयमा सम्पर्क गर्न सकिने बताइएको छ ।















