काठमाडाैं क्षेत्र नं. १० मा राप्रपाका उमेदवार थापाले हार स्वीकार्दै दिए प्रदिप विष्टलाई बधाई

Thankot Times

थानकोट ।

प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ अन्तर्गत मतगणनाको कार्य जारी छ । विभिन्न निर्वाचन क्षेत्रमा अन्तिम मत परिणाम घोषणा भइसकेको छ ।

काठमाडाैं क्षेत्र नं. १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार प्रदिप विष्ट फराकिलो मतान्तरसहित जित नजिक पुगेका छन् । 

यहाँ २५ जना उमेदवारहरू मध्ये सबैले मत पाएका छन् ।

कीर्तिपुर र दक्षिणकाली नगरका सबै भोट गणना भइ चन्द्रागिरि नगरपालिका क्षेत्रमा केही वडाको मतगणना भइरहँदा घण्टी चिन्हका विष्टले अग्रता कायमै राखेका छन् । 

यसैबीच काठमाडाैं क्षेत्र नं. १० मा राप्रपाबाट उमेदवारी दिएका बलराम थापाले हार स्वीकार्दै रास्वपाका उमेदवार प्रदिप विष्टलाई बधाई दिएका छन् । ४२२५१ मतगणना हुँदा थापाले १७८० मत पाएका छन् ।

उनले सामाजिक सञ्जालमा उनले लेखेका छन्

नमस्कार सम्पूर्णमा,
काठमाडौँ क्षेत्र नम्बर १० अन्तर्गत पर्ने दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकामा बस्नु हुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा म बलराम थापाको तर्फबाट हृदयदेखि नमन गर्दछु।
यहाँहरूले देखाउनुभएको माया, सद्भाव र विश्वासका साथ दिनुभएको मतप्रति म जीवनभर आभारी रहनेछु। चुनावमा जित मात्र जित होइन, कहिलेकाहीँ हारेर पनि ठूलो जित हासिल हुन्छ भन्ने विश्वास म राख्दछु।
म यहाँहरूको विश्वास र मतलाई कहिल्यै व्यर्थ हुन दिनेछैन। म लडेर फेरि उठ्नेछु, अझ मजबुत भएर जनताको सेवामा लाग्नेछु। चुनावको बेला मात्र होइन, हरेक दिन यहाँहरूको सुख-दुःखमा साथ दिने वाचा गर्दछु।
साथै, यस क्षेत्र नम्बर १० बाट विजयउन्मुख हुनु भएका मित्र प्रदीप बिष्टज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। साथै राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु।
देशमा सुशासन, समृद्धि र भ्रष्टाचारको अन्त्यका लागि उहाँहरूले सकारात्मक भूमिका खेल्नुहुनेछ भन्ने विश्वास पनि व्यक्त गर्दछु।
हामी सबै नेपाल र नेपालीको हितका लागि लड्ने योद्धा हौँ। राजनीति फरक हुन सक्छ, तर हामी सबै एकअर्काका दाजुभाइ नै हौँ भन्ने विश्वासका साथ फेरि पनि सम्पूर्णमा मेरो हृदयदेखि नमन।
धन्यवाद।
– बलराम थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *