विजयी उम्मेदवारलाई रास्वपाको निर्देशन: अबिर जात्रा र विजय र्याली नगर्नू, पहिले काम गरौं
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा विजयी भएका आफ्ना उम्मेदवारहरूलाई विजय र्याली, अबिर जात्रा र कुनै पनि प्रकारका उत्सव नमनाउन निर्देशन दिएको छ।
पार्टीका उपसभापति तथा संघीय निर्वाचन सम्पादन समितिका संयोजक डिपी अर्यालले एक भिडियो सन्देशमार्फत यस्तो जानकारी दिएका हुन्।
काठमाडौं क्षेत्र नम्बर-९ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका अर्यालले मतदाताको मत र लगानीबाट उम्मेदवारहरू निर्वाचित भइरहेको प्रस्ट पारे। निर्वाचित भइसकेपछि मतदाताको घरदैलोमा गएर खुसी साट्ने दिन पक्कै आउने तर अहिले काम गर्ने बेला भएकोमा उनले जोड दिए।
उत्सव नमनाउनुका मुख्य दुई कारण उनले खुलाएका छन्। देशमा भएका दुःखद घटना र मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण अहिले उत्सव मनाउने समय नरहेको उनले बताए।
‘हाम्रा साना नानीबाबुहरू, जेन्जी उमेर समूहका छोराछोरीहरूले ज्यान गुमाएको पीडा अझै सेलाएको छैन। सँगसँगै मध्यपूर्वमा भइरहेका घटनाक्रमलाई हेर्दा पनि हामी अहिले अबिर जात्रा गर्ने र उत्साह मनाउने मोडमा छैनौं।’
देशभरबाट सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न नागरिकले दिएको साथलाई गम्भीर रूपमा लिनुपर्ने उनले औंल्याएका छन्।
जनताले काम गर्नका लागि मत दिएको भन्दै अर्यालले विजयी हुनासाथ हौसिन नहुने बताए।
‘हामीलाई जनताले सरकार बनाउनुस् र जनताको लागि काम गर्नुस् भनेर काम गर्नका लागि दिएको यो म्यान्डेट हो। जनताको अगाडि काम गरिसकेपछि यहाँहरूसँग घरदैलोमा अबिर जात्रा गर्ने र रमाइलो गर्ने दिन आइहाल्छ। सबैभन्दा पहिले हामीले काम गर्नुपर्नेछ।’
अर्यालले विजयी उम्मेदवारहरूलाई मतगणना स्थलमा मात्र उपस्थित सुभेच्छुकहरूलाई धन्यवाद दिन आग्रह गरेका छन्। फुलमाला, गाडी तथा मोटरसाइकल र्याली पूर्ण रूपमा बन्द गर्न उनले निर्देशन दिए।















