काठमाडौंमा रास्वपाको ‘क्लिन स्वीप’मा अर्याल र विष्ट सबैभन्दा बढी मतान्तरले विजयी
थानकोट ।
काठमाडौं जिल्लाका सबै अर्थात् १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार निर्वाचित भएका छन् ।
यसमध्ये काठमाडौं–९ र १० का रास्वपा उमेदवारहरू क्रमशः डोलप्रसाद (डीपी) अर्याल र प्रदीप विष्ट सबैभन्दा बढी मतान्तरले सांसद निर्वाचित भए ।
निर्वाचन आयोगका अनुसार, काठमाडौं–९ मा अर्यालले नेपाली कांग्रेसकी उमेदवार नानुमैया बास्तोलालाई २९ हजार ६३३ मतान्तरले पराजित गरे । उनले ३५ हजार ९३ मत ल्याए ।
अर्यालले पाँच हजार ४६० मत प्राप्त गरिन् । यो नै काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतान्तरको जितहार हो ।
यस्तै, काठमाडौं–१० मा रास्वपाका उमेदवार प्रदीप विष्टले कांग्रेसकै हिमाल कार्कीलाई २९ हजार ३६९ मतान्तरले हराए ।
विष्टले ३७ हजार ४६९ प्राप्त गरे । कार्कीले आठ हजार १०० मत ल्याएका आयोगले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका १० निर्वाचन क्षेत्रमै ‘क्लिन स्वीप’ गरेको छ । हरेक क्षेत्रमा रास्वपाले भारी मतान्तरले जित निकालेको छ । कांग्रेस–एमालेसहित उमेदवार फराकिलो मतान्तरसहित पराजित हुँदा प्रतिस्पर्धीहरू धेरैको जमानतसमेत जफत भएको छ । काठमाडौंका २२६ उमेदवारको जमानत जफत भएको छ ।
काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना निर्वाचित हुँदा कांग्रेस र रास्वपाबाहेक सबै उमेदवारको जमानत जफत भएको छ । कुल २९ हजार ४०० मत सदर भएकोमा दुई हजार ९०० भन्दा कम मत पाउने सबैको जमानत जफत भएको हो । काठमाडौं–१ मा एमाले, नेकपासहित २६ उमेदवारका जमानत जफत भएको छ ।
काठमाडौं–२ मा रास्वपाकै सुनिल केसी फराकिलो मतान्तरसहित निर्वाचित भए । उनले २४ हजार २६९ मत पाउँदा कांग्रेसका कविर शर्माले ६ हजार ९८९ र राप्रपाकी कुन्तिदेवी पोखरेलले चार हजार १३८ मत ल्याएर जमानत जोगाएका छन् । त्यसबाहेकका २५ उमेदवारको जमानत जफत भएको छ ।
काठमाडौं–३ मा रास्वपाकै राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित निर्वाचित भए । यहाँ उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ ११ हजार १७१ मतसहित दोस्रो भए भने कांग्रेसका रमेश अर्याल ६ हजार मत ल्याएर तेस्रो भए । त्यसबाहेक चौथो भएका एमालेका रामेश्वर फुयालसहित १९ जनाको जमानत जफत भएको छ ।
काठमाडौं–४ मा रास्वपाका पुकार बम २३ हजार ४८८ मतसहित निर्वाचित भए । उनीपछि दोस्रो भएका नेपाली कांग्रेसका सचिन घिमिरेले ६ हजार ९५९ मत पाए । तेस्रो भएका एमालेका राजन भट्टराईले पाँच हजार २३७ मत पाएका छन् । त्यसबाहेकका २४ उमेदवारको जमानत जफत भएको छ ।
काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल २७ हजार ४७७ मतसहित निर्वाचित भए । यहाँ दोस्रो भएका कांग्रेसका प्रदीप पौडेलको आठ हजार २११ मत छ । तेस्रो भएका ईश्वर पोखरेल र त्यसपछिका सबै उमेदवारको जमानत जफत भएको छ । यहाँ जमानत जफत हुने उमेदवारको संख्या २४ छ ।
काठमाडौं–६ मा रास्वपाकै शिशिर खनाल निर्वाचित भएका छन् । उनले २७ हजार ७१९ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका कृष्ण सवुज बानियाँले ६ हजार ७५१ मत ल्याएर दोस्रो भए । एमालेका अमनकुमार मास्के चार हजार २६८ मतसहित तेस्रो भए । उनीपछि राप्रपाका उद्धवराज भेटवालसहित १७ उमेदवारको जमानत जफत भएको छ ।
काठमाडौं–७ मा रास्वपाका गणेश पराजुली २७ हजार ८०५ मतसहित निर्वाचित भए । दोस्रो भएका कांग्रेसका प्रमोदहरि गुरागाईंले तीन हजार ९८२ मत ल्याएर दोस्रो भए पनि उनको जमानत जोगिएन । उनीसहित २५ उमेदवारको यहाँ जमानत जफत भएको छ ।
काठमाडौं–८ मा रास्वपाकै विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित निर्वाचित भए । यहाँ नेकपाका सुमन सायमी तीन हजार २१७ मत ल्याएर दोस्रो भए पनि उनको जमानत जोगिएन । यहाँ कांग्रेसकी सपना राजभण्डारी जोशी र एमालेका राजेश शाक्यसहित २१ उमेदवारको जमानत जफत भएको छ ।
काठमाडौं–९ मा रास्वपाकै डोलप्रसाद अर्याल (डीपी) २७ हजार ४१३ मतसहित निर्वाचित भए । यहाँ कांग्रेसकी नानुमैयाँ बास्तोला चार हजार ४३९ मतसहित दोस्रो भएर जमानत जोगाइन् । त्यसपछिका एमालेका अजयक्रान्ति शाक्यसहित २२ उमेदवारका जमानत जफत भएको छ ।
काठमाडौं–१० मा रास्वपाका प्रदीप विष्ट ३७ हजार ४६९ मतसहित निर्वाचित भए । यहाँ कांग्रेसका हिमाल कार्की आठ हजार एकसय मतसहित दोस्रो भएर जमानत पनि जोगाए । तर, तेस्रो भएका एमालेका विनोद श्रेष्ठले चार हजार ८६४ मत ल्याउँदा उनको जमानत जोगिएन । उनी र नेकपाकी रुपा महर्जन, राप्रपाका बलराम थापासहित २३ उमेदवारको जनमत जफत भएको छ ।















