मकवानपुर क्षेत्र नं. २ मा प्रशान्त उप्रेती विजयी, एमालेका महेश बर्ताैला पराजित
थानकोट ।
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान सांसद महेशकुमार बर्तौलालाई १२ हजार १०१ मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यका अनुसार उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त ल्याउँदा बर्तौलाले १९ हजार ६२४ मत पाए । नेपाली कांग्रेसका बुद्ध लामा १५ हजार ४३६ मतसहित तेस्रो भए । यस क्षेत्रमा कुल ९१ हजार २४१ मत खसेको थियो ।
उप्रेतीको जीतसँगै मकवानपुर–२ मा झन्डै ३६ वर्षदेखि कायम रहेको कम्युनिस्ट वर्चस्व पनि अन्त्य भएको छ । २०४६ पछि भएका अधिकांश निर्वाचनमा यस क्षेत्रबाट एमाले वा कम्युनिस्ट दलका उम्मेदवार विजयी हुँदै आएका थिए । पछिल्लो २०७९ सालमा भएको चुनावमा पनि एमालेका बर्तौला विजयी भएका थिए ।















