न्युजिल्यान्डलाई हराउँदै भारतले तेस्राेपटक जित्याे टी-२० विश्वकप क्रिकेटकाे उपाधि
थानकोट ।
न्युजिल्यान्डलाई ९६ रनले हराउँदै भारतले आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा गएराति भएको खेलमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९६ रनले हरायो ।
भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा १५९ रन बनाउँदा सबै विकेट गुमायो । न्युजिल्यान्डका टिम साइफर्टले ५२, कप्तान मिचेल स्यान्टरले ४३ रन बनाए । भारतका जसप्रित बुमराहले ४, अक्षर पटेलले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रन बनायो । भारतका सन्जु सामसनले ५९, ईशान किशनले ५४, अभिषेक शर्माले ५२ रन बनाए । न्युजिल्यान्डका जेम्स नीशमले ३ विकेट लिए ।
योसँगै भारत लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक उपाधि जित्ने पहिलो टोली बनेको छ । भारतले यसअघि सन् २००७ र २०२४ मा उपाधि जितेको थियो ।
न्युजिल्यान्ड भने दाेस्राे पटक उपविजेता बनेकाे छ ।
न्युजिल्यान्ड यसअघि सन् २०२१ काे फाइनलमा अस्ट्रेलियासँग पराजित भएकाे थियाे ।
भारतले पछिल्लो २० महिनामा तेस्रो आईसीसी उपाधि जितेको छ । भारतले सन् २०२४ को जुनमा टी–२० विश्वकप जितेको थियो ।
यस्तै, २०२५ को मार्चमा आईसीसी च्याम्पियन्स ट्रफी जितेको भारतले गएराति टी–२० विश्वकप उपाधि जित्यो ।
१०औँ संस्करणको टी–२० विश्वकपमा लगातार तेस्रो अर्धशतक बनाउने भारतका सन्जु सामसन प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका छन् । यस्तै भारतकै जसप्रित बुमराह फाइनल खेलकाे उत्कृष्ट खेलाडी बनेका छन् ।















