हर्क साङपाङको श्रम संस्कृति पार्टी संसदको पाँचाै ठूलो दल हुने लयमा, राप्रपा छैठाैं स्थानमा

Thankot Times

थानकोट ।

प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ दुई तिहाईभन्दा बढी मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै ४८ प्रतिशत बढी मत प्राप्त गरेको छ।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ११० सिटका लागि मतदाताले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलका लागि मत दिएका थिए।

बिहान ८ बजेसम्म ७९ लाख ६२ हजार २६४ मतगणना सम्पन्न भएको छ। मतदानमा १ करोड ९ लाख मत खसेको थियो।

पछिल्लो मत परिणाम अनुसार रास्वपाले ३८ लाख ४ हजार ७६० मत प्राप्त गरेको छ। यो कुल गणना भएको ४८.२५ प्रतिशत हुन्छ।

त्यस्तै, नेपाली कांग्रेसले १२ लाख ९८ हजार ५१९ मत प्राप्त गरेको छ। यो १६ प्रतिशत हाराहारी हो।

नेकपा एमालेले १० लाख ९७ हजार ७३२ (१४ प्रतिशत हाराहारी), नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ६७ हजार ३३० (७ प्रतिशत हाराहारी),  राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६८ हजार २७० (३ प्रतिशत हाराहारी) र श्रम संस्कृति पार्टीले २ लाख ६८ हजार ०१२ (३ प्रतिशत हाराहारी) मत प्राप्त गरेका छन्।

जारी मतगणनामा रास्वपा, कांग्रेस, एमाले,  नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीले मात्रै ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ ‍कटाएका छन्।

मतगणना सम्पन्न हुँदासम्म यही अनुपात कायम राख्न सके राप्रपा र श्रम संस्कृति पार्टी राष्ट्रिय पार्टी हुने सम्भावना छ। यी ६ दलबाहेक अन्यले थ्रेसहोल्ड कटाउने सम्भावना अत्यन्त न्यून छ।

मतगणना अहिलेकै अनुपातमा अघि बढे रास्वपाले समानुपातिकतर्फ ५८ सिट प्राप्त गर्नेछ।

त्यस्तै, नेपाली कांग्रेसले २० सिट, नेकपा एमालेले १७ सिट, नेकपाले ८ सिट र राप्रपाले ५ सिट जित्नेछ।

समानुपातिकतर्फ अहिलेकै अनुपातमा रास्वपाले मत कायम राखे उसले ५८ सिट प्राप्त गर्नेछ।

रास्वपाले अहिलेसम्म प्रत्यक्षतर्फ १२४ सिटमा जित हात पारेको छ। गोरखा-१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङले मतगणनामा अग्रता लिइरहेका छन्।

यो सिटमा समेत रास्वपा विजयी भए उसले प्रत्यक्षतर्फ १२५ सिट प्राप्त गर्नेछ। समानुपातिक तर्फको ५८ सिट जोड्दा रास्वपा १८३ सिटमा विजयी हुनेछ।

२७५ सदस्यीय प्रतिनिधिसभामा दुई-तिहाइ बहुमत प्राप्त गर्न १८४ सिटमा जित हात पार्नुपर्छ। रास्वपाले अहिलेकै अनुपातमा मत प्राप्त गर्ने हो भने उसले दुई-तिहाइ सिटमा जित हात पार्ने सम्भावना कायमै छ।

समानुपातिकमा कांग्रेसले यही अनुपातमा मत ल्याए उसले समानुपातिकमा १९ सिटसम्म पाउन सक्नेछ। प्रत्यक्षतर्फ उसले १७ सिट जितेको छ। संखुवासभामा कांग्रेसका निश्कल राईले अग्रता लिइरहेका छन्। यहाँ उनले जिते प्रत्यक्षतर्फ कांग्रेसको १८ सिट हुनेछ। समानुपातिकतर्फको १९ सिट जित्दा उसको ३७ सिट हुनेछ।

एमालेले पनि यही अनुपातमा मत ल्याए समानुपातिकबाट १६ सिट ल्याउनेछ। प्रत्यक्षततर्फ उसले ८ सिट जितेको छ। संखुवासभामा एमालेका अर्जुनकुमार कार्कीले अग्रता लिइरहेका छन्। उनले जिते प्रत्यक्षतर्फ एमालेको ९ सिट हुनेछ। समानुपातिकसहितको जोड्दा एमालेको कुल सिट २५ हुनसक्ने देखिएको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अहिलेकै अनुपातमा मत ल्याएको खण्डमा समानुपातिकतर्फ ८ सिट जित्ने देखिन्छ। उसले प्रत्यक्षमा ७ सिट जितेको छ। समानुपातिकतर्फको जोड्दा उसको १५ सिट हुन सक्नेछ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकमा यही अनुपात कायम गरिराखेर थ्रेसहोल्ड पार गरे उसले ४ सिट पाउन सक्ने देखिन्छ। प्रत्यक्षतर्फ राप्रपाले एक सिट मात्रै जितेको छ। समानुपातिकतर्फको पनि जोड्दा उसको ५ सिट हुन सक्नेछ।

थ्रेसहोल्ड कटाएको खण्डमा हर्क साम्पाङको श्रम संस्कृति पार्टी संसदमा राप्रपाभन्दा ठूलो हुनेछ।

श्रम संस्कृतिले प्रत्यक्षतर्फ तीन सिट जितेको छ।

समानुपातिकमा यही अनुपात कायम राखे उसले पनि चार सिट पाउन सक्नेछ। त्यसो हुँदा संसदमा श्रम संस्कृति पार्टीको ७ सिट हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ