थानकोट प्रहरी चौकी आक्रमणका कमाण्डरको चुनावी चाल- ‘बाकसमा मत, बाकसभरी विकास’ सफल
थानकोट ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले बागमती प्रदेशको राजनीतिक चित्र नै फेरिदिएको छ ।
१३ जिल्लामा फैलिएका ३३ निर्वाचन क्षेत्रमध्ये ३१ सीट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित्दा परम्परागत दलहरूका लागि नतिजा लगभग ‘क्लिन स्वीप’ जस्तै बनेको छ।
यो लहरका बीच अपवादका रूपमा उभिएका छन् सिन्धुपाल्चोक-२ बाट निर्वाचित नेकपाका उम्मेदवार युवराज दुलाल। बागमतीभर रास्वपाको व्यापक लहर देखिँदा पनि सिन्धुपाल्चोक-२ ले भने फरक नतिजा दियो। यही क्षेत्रबाट दुलाल विजयी हुँदै बागमती प्रदेशमा नेकपाको बिउ जोगाउने उनी एकमात्र उम्मेदवार बने। रसुवामा १ सीट कांग्रेसले जितेको छ ।
सिन्धुपाल्चोक-२ मा प्रत्यक्षतर्फ नेकपाका युवराज दुलाल २१ हजार ६९९ मतसहित विजयी भए तर समानुपातिकतर्फ यहाँ पनि रास्वपा पहिलो बनेको छ । दुलालको पार्टी नेकपाले समानुपातिक मत चौथोमा ल्याएको छ । यसले दुलालको जितमा पार्टी भन्दा पनि उम्मेदवारको योगदान र लोकप्रियता मतदाताले हेरेको देखिन्छ ।
नेकपाका युवराज दुलाल २१ हजार ६९९ मतसहित विजयी हुँदा कांग्रेसका वंशलाल तामाङ १९ हजार १४६ मतसहित दोस्रो भए। एमालेका शेरबहादुर तामाङ तेस्रो स्थानमा रहे भने रास्वपाका झलक श्रेष्ठ चौथो स्थानमा सीमित भए।
स्थानीय राजनीतिक वृत्तमा भने रास्वपाले यसअघि उम्मेदवार बनेकी माया गुरुङलाई टिकट दिएको भए नतिजा फरक हुन सक्ने चर्चा भएको थियो। झलक श्रेष्ठलाई उम्मेदवार बनाइएपछि पार्टीभित्र केही असन्तुष्टि देखिएको बताइन्छ।
‘बाकस भरी मत, बाकस भरी विकास’
युवराज दुलाल यसअघि बागमती प्रदेश सरकारका मन्त्रीसमेत भइसकेका नेता हुन्। प्रदेशसभा निर्वाचनमा उनले ‘विकासको बाकस’ भन्ने नारा अघि सारेका थिए।
प्रदेशसभा सदस्य निर्वाचित भएपछि उनी बागमती प्रदेशको सामाजिक विकास मन्त्री बने। त्यसपछि कांग्रेससँगको गठबन्धनबाट पुनः प्रदेशसभा सदस्य निर्वाचित भएका दुलाल भौतिक पूर्वाधार मन्त्री बनेका थिए। सडक लगायतका क्षेत्रमा ठूलो बजेट ल्याएर विकासका काम अघि बढाएको उनको दाबी छ।
प्रदेशसभाको कार्यकाल बाँकी हुँदाहुँदै उनले पदबाट राजीनामा दिएर संघीय संसदको यात्रा रोजे। यस पटक उनले अघि सारेको नारा थियो— ‘बाकस भरी मत दिनुहोस्, बाकस भरी विकास लैजानुहोस्।’
स्थानीयका अनुसार रास्वपाको लहरबीच पनि यही नाराले उनलाई मतदातासँग जोड्न सफल बनायो ।
युद्धकालीन कमाण्डरदेखि सांसदसम्म
तत्कालीन माओवादी आन्दोलनका क्रममा युवराज दुलाल ‘शरद’ नामले चिनिन्थे। उनी जनमुक्ति सेनाका पूर्वकमाण्डर हुन्। शान्ति प्रक्रियापछि उनले तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरूको सुरक्षाको जिम्मेवारी पनि सम्हालेका थिए।
युद्धकालमा ब्रिगेड सहायक कमाण्डर रहेका दुलाल २०६२ माघ १ गते काठमाडौंको थानकोट प्रहरी चौकीमा भएको आक्रमणको नेतृत्वमा समेत संलग्न थिए।
उनले नेपाल प्रेससँगको कुराकानीमा एक समय भनेका थिए-जनयुद्धको अन्तिम शहरी लडाइँ चाहिँ काठमाडौंको थानकोटमा हो । २०६२ साल माघ १ गते त्यहाँ आक्रमण गरेका थियौँ ।खासमा भन्ने हो भने थानकोटमा कारबाही गर्ने ठोस सपना नै मेरो हो । पार्टीमा प्रस्ताव पनि मैले गरेको हो । पार्टीले जिम्मा पनि तोकेर मलाइ नै दिएको हो । त्यति बेला यो क्षेत्रको कमाण्ड इन्चार्ज अनन्त हुनुहुन्थ्यो । उहाँले मेरै नेतृत्वमा पठाउने भनेर निर्देशन दिनु भएको रहेछ मेरो कमिसारलाई ।
थानकोटमै आक्रमण गर्नुपर्छ भन्ने पार्टीको निर्देशन चाहिँ थिएन । जनमुक्ति सेनाले थानकोटमै आक्रमण गर्न सक्छ भन्ने पार्टीलाई विश्वास लागेको थिएन । काठमाडौं उपत्यकाभित्र कुनै पनि ठाउँमा जनताले देख्ने ठाउँमा तीस/चालीस जना जनमुक्ति सेना बर्दी लगाएर मार्चपास मात्रै गर्यो भने पनि त्यो ठूलो कारबाही हुन्छ भनिएको थियो ।
– दिनेश थापा
२०६२ साल माघ १ गते यसरी गरिएको थियो थानकोट प्रहरी चौकीमाथि आक्रमण- युवराज दुलाल
नेपाल प्रेसबाट















