एकै खेलमा २३ खेलाडीलाई रातो कार्ड

Thankot Times

थानकोट ।

ब्राजिलका क्लबहरू क्रुजेइरो र एट्लेटिको एमजीबीच मिनेइरो च्याम्पियनसिप फुटबलको फाइनलमा भएको ठूलो झगडाका कारण २३ खेलाडीलाई रातो कार्ड दिइएको छ ।

बीबीसीले सोमबार जनाएअनुसार काइओ जोर्गेले बेलो होरिजोन्टेमा विजयी गोल गरेपछि ब्राजिलका पूर्व प्रशिक्षक टिटेको नेतृत्वमा रहेको क्रुजेइरोले प्रतिद्वन्द्वी एट्लेटिकोलाई १–० ले पराजित गर्दै मिनास गेराइस प्रान्तको विजेता बनेको थियो ।

टोलीले सन् २०१९ यता पहिलो पटक यो उपाधि जितेको थियो । तर खेल समाप्त हुनु अन्तिम सेकेन्ड अगाडिे हिंसात्मक रूप लिएपछि खेल बिथोलिएको थियो । सुरक्षा अधिकारी र सैनिक प्रहरीले हस्तक्षेप गरी झगडा नियन्त्रणमा लिनुपरेको थियो । ब्राजिली स्ट्राइकर हल्कसहित २३ खेलाडीलाई रातो कार्ड दिइएको थियो ।

एट्लेटिकोका गोलरक्षक इभरसनले क्रुजेइरोको मिडफिल्डर क्रिस्टियनलाई धकेलेर भुइँमा लडाएपछि दुई टोलीका खेलाडीबीच भिडन्त सुरु भएको थियो । इभरसनले क्रिस्टियनको छातीमा घुँडाले थिचेका थिए । क्रिस्टियनले खुकुलो बल पछ्याउनेक्रममा इभरसनसँग ठोक्किएपछि झगडाको निहुँ बनेको थियो ।

क्रिस्टियनका साथीहरू तुरुन्तै आएर इभरसनलाई हुत्याएर पोस्टमा पुर्‍याइदिएपछि विवादले झन ठूलो उग्र रूप लिएको थियो । खेलका दौरान रेफ्री म्याथ्युज डेलगाडो कन्डानकनले कुनै रातो कार्ड देखाएनन् । ब्राजिली मिडिया ग्लोबोले जनाएअनुसार घम्साघम्सीका कारण खेल रोकिएकाले रेफ्रीले रातो कार्ड देखाउन पाएनन् । पछि भने रेफ्रीले रातो देखाएका थिए ।

क्रुजेइरोका १२ र एट्लेटिकोका ११ खेलाडीलाई रातो कार्ड दिइएको हो । यो सर्वाधिक रातो कार्ड देखाइएको खेल भने होइन । सन् २०११ को फ्रेबुअरीमा अर्जेन्टिनी फुटबलको पाँचौं डिभिजन लिगमा एट्लेटिको क्लेयपोल र भिक्टोरियनो एरिनाजबीचको खेलमा समावेश सबै ३६ खेलाडीलाई रातो कार्ड दिइएको थियो ।

‘यो पछुताउनुपर्ने क्षण थियो,’ हल्कले आइतबारको फाइनलबारे भने, ‘हामीले कुनै उदाहरणीय काम गर्न सकेनौं, जसलाई विश्वले नियालिरहेको थियो । आफ्नो परिचय र आफ्नो संस्थाको क्षवि बनाउने हामी नै हौं ।’ ब्राजिलको शीर्ष डिभिजनमा एट्लेटिको र क्रुजेइरो क्रमशः १७ र १९ औं स्थानमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ