रास्वपा काठमाडाैं जिल्ला सभापति प्रदिप विष्टको चुनावी खर्च ७ लाख ४९ हजार
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडाैं जिल्ला सभापति प्रदिप विष्टले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ७ लाख ४९ हजार १ सय ६ रुपैयाँ मात्रै खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडाैं क्षेत्र नं. १० बाट उम्मेदवार बनेका उनले बुधबार निर्वाचन आयोगमा निर्वाचन खर्च विवरण पेश गरेका हुन्।
पेश गरिएको विवरणमा कुल ७ लाख ४९ हजार १०६ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
खाना र कल्याणका लागि सबैभन्दा धेरै ३ लाख ७५ हजार ८९५ रूपैयाँ खर्च देखाएका विष्टले पोशाक, लुगा, झण्डा शीर्षकमा २ लाख १० हजार ३३५ रुपैयाँ खर्चँदा छपाइ र स्टेशनरी शीर्षकमा ८८ हजार ४९६ रुपैयाँ खर्च भएको विवरण पेश गरेका हुन् ।
यस्तै, संगीत तथा ध्वनी शीर्षकमा २३०२० रुपैयाँ चुनावी खर्च गरेका विष्टले ३० हजार रुपैयाँ विद्युतीय उपकरणमा खर्च भएको उल्लेख गरेका छन् ।
उनले मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ र विविध शीर्षकमा ३५० रुपैयाँ खर्चिएको समेत जानकारी गराएका छन् ।
निर्वाचन आयोगले उम्मेदवारहरूले गरेको निर्वाचन खर्च पारदर्शी बनाउन विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदिप विष्टले ३७ हजार ४ सय ६९ मत पाउँदै विजेता बनेका थिए । उनका निकटतम प्रतिस्पर्धी हिमाल कार्कीले ८ हजार १ सय मत पाएका थिए । नेकपा एमालेका विनोद श्रेष्ठले ४ हजार ८ सय ६४ मत पाउँदा नेकपाकी रूपा महर्जनले २६४८ मत पाइन । राप्रपाका बलराम थापाले २२३९ मत पाउँदा उज्यालो नेपाल पार्टीका राकेश न्याैपानेले ९२७ मत पाए ।
कुल मतदाता संख्या ८३३०१ रहेको काठमाडाैं क्षेत्र नं. १० मा खसेको ६०१५१ मत मध्ये ५८०५८ मत सदर भएको थियो । २०९३ बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सदर मतको १० प्रतिशत अर्थात ५८०६ मत प्राप्त नगरेका २३ जना उमेदवारले यस क्षेत्रमा जमानत गुमाएका छन् ।
















