इतिहास बनाउनबाट चुक्यो रास्वपा

Thankot Times

थानकोट ।

नेपालको इतिहासमा एकल दुईतिहाइ मत ल्याउने रेकर्ड बनाउनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुकेको छ ।

बुधबार बिहानसम्मको मतगणनाअनुसार रास्वपाको समानुपातिकमा ५७ सिट आएको छ । यसअगाडि सार्वजनिक प्रत्यक्षतर्फको नतिजामा रास्वपाले १२५ सिट ल्याएको छ । दुवै जोड्दा १८२ सिट आउँछ । त्यो भनेको दुईतिहाइको मार्क १८४ भन्दा दुई सिट कम हो ।

अब गणना पूरा भएपछि रास्वपाले एक सिट थपे पनि दुईतिहाइमा एक सिटले पुग्ने छैन । २०१५ सालको संसदीय चुनावमा नेपाली कांग्रेसले एकल दुईतिहाइ ल्याएको थियो । प्रत्यक्ष चुनावमा त्योबेलाका १०९ क्षेत्रमा नेपाली कांग्रेसको एकल ७४ क्षेत्रमा जित भएको थियो । जुन प्रस्ट एकल दुईतिहाइभन्दा धेरै थियो ।

नेपालको संसदीय इतिहासमा बुहमत भने अहिलेको रास्वपासहित पाँचपटक आएका छन् । २०१५, २०५१, २०५६, २०७४ मा बहुमत आएका थिए । २०७४ को बहुमत वामगठबन्धन हुँदै बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को थियो भने त्यसअगाडिका सबै बहुमत कांग्रेसका एकल बहुमत थिए ।

तर, रोचक कुरा नेपालका कुनै पनि बहुमत सरकारले पूरा कार्यकाल चलाउन पाएका छैनन् । २०१५ को चुनावबाट बनेको दुईतिहाइ सरकार १८ महिना मात्रै टिक्यो भने अरु बहुमतका सरकारले तीन वर्ष हाराहारीसम्म मात्रै टिक्न पाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ