जान्नुहोस आज दिनभरको माैसम पूर्वानुमान
थानकोट ।
जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसमी गतिविधि बढ्ने जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनमा आजदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना पनि देखिएकाले मौसमको हालको प्रदूषणको अवस्थामा क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको उल्लेख छ ।
आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ, बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।
कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा मधेश प्रदेशको थोरै स्थानहरूमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम प्रणाली स्थिर रही पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसकेको तथा वायुमण्डलको तल्लो तहमा न्यून चापीय गतिविधि बढ्न नसकेको कारणले पर्याप्त वर्षा हुन नसकी प्रदूषण वायुमण्डलको तल्लो तहमै सञ्चित रहँदा केही दिनदेखि देशका धेरै भू–भागमा तुवाँलो देखिएको महाशाखाले उल्लेख गरेको छ ।
तुवाँलो लाग्दा स्वास्थमा पर्न सक्ने असरबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाउन पनि विभागका सूचना अधिकारी दिनकर कायस्थले अनुरोध गरे । साथै मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र यस महाशाखाबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमासमेत सोही अनुसार नियमित अद्यावधिक गर्दै जाने जनाएको छ ।















