कतार एयरवेजले दोहाबाट सीमित उडान सञ्चालन गर्ने
थानकोट ।
कतारको हवाई क्षेत्र अस्थायी रूपमा बन्द भएपछि नियमित उडान सेवा प्रभावित भएको अवस्थामा कतार एयरवेजले दोहा आवतजावतका लागि सीमित उडान सञ्चालन गर्ने घोषणा गरेको छ।
एयरलाइन्सका अनुसार हाल नियमित व्यावसायिक उडानहरू अस्थायी रूपमा स्थगित गरिएको छ। तर कतार सिभिल एभिएसन अथोरिटीबाट सीमित उडान मार्ग प्रयोग गर्न अस्थायी अनुमति प्राप्त भएपछि प्रभावित यात्रुहरूलाई सहयोग गर्न उडानहरू सञ्चालन गरिन लागेको कतारले आफ्नो सामाजिक प्लेटफर्मबाट जानकारी दिएको हो ।
एयरलाइन्सले यी उडानहरूलाई नियमित व्यावसायिक सेवा पुनः सुरु भएको पुष्टि मान्न नहुने पनि स्पष्ट पारेको छ। कतारको हवाई क्षेत्र सुरक्षित रूपमा पुनः खुला भएको पुष्टि भएपछि मात्र नियमित उडान सञ्चालन पूर्ण रूपमा सुरु गरिने उस्ले केहीबेर अघि जनाएको हो ।
यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन कतार एयरवेजले केही प्रत्यक्ष ‘प्वाइन्ट–टु–प्वाइन्ट’ उडानहरू पनि व्यवस्था गरेको छ। यस्ता उडानका लागि योग्य यात्रुहरूलाई कतार एयजले सिधै सम्पर्क गर्ने जनाएको छ। एयरलाइन्सले मान्य र पुष्टि भएको टिकट नभएसम्म प्रस्थान गर्ने विमानस्थलमा नआउन यात्रुहरूलाई आग्रह गरेको छ।
कतार एयरवेजले यात्रु तथा चालक दलको सुरक्षा र स्वास्थ्य आफ्नो उच्च प्राथमिकता रहेको दोहोर्याएको पनि छ। नियन्त्रण बाहिरका परिस्थितिका कारण भएको असुविधाप्रति एयरलाइन्सले माफी माग्दै यात्रुहरूको धैर्य र सहयोगका लागि आग्रह गरेको छ ।
यात्रुहरूले पछिल्लो उडान तालिका कतार एयरवेजको वेबसाइट, मोबाइल एप वा ट्राभल एजेन्टमार्फत जाँच गर्न सकिने यात्रुहरुलाई भनेको छ ।
कतारले दानिक दोहाबाट संसारभर १ हजार हाराहारी उडान गर्छ । नेपालमा दैनिक यस्ले तीन उडान गर्छ । नेपालको उडान अझै खुला गरीसकेको छैन । नेपालमा धेरै यात्रु र उडान गर्नेमा कतार अग्रस्थानमा पर्छ।















