नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक गुग्लिएर्मो एरिना नियुक्त

Thankot Times

थानकोट ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक गुग्लिएर्मो एरिनालाई औपचारिक रूपमा सम्झौता गरेको छ ।

एन्फाले यसअघि नै उनलाई मुख्य प्रशिक्षकको रूपमा भित्र्याए पनि सम्झौता भने भएको थिएन । 

बिहीबार एन्फा महासचिव किरण राईले एरिनालाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । उनको सम्झौता एक वर्षको लागि रहेको एन्फाका प्रवक्ता सुरेश शाहले बताए ।

उनका अनुसार, गुग्लियर्मोले नेपाल र हङकङबीच चैत्रमा दशरथ रंगशालामा हुने खेलमा राष्ट्रिय टोलीको नेतृत्व लिनेछन् । 

एन्फाले प्रशिक्षकको अन्तर्राष्ट्रिय खुला आह्वान गर्दा विश्वभरिबाट ८०० भन्दा बढी प्रशिक्षकको आवेदन परेको थियो । त्यसबाट छनोट गर्दै प्रारम्भिक चरणमा १० उमेदवार सूचीकृत गरिएको थियो भने अन्तिम चरणमा तीन उमेदवारसँग विस्तृत प्रस्तुति र अन्तर्वार्ता सम्पन्न गरिएको थियो । अन्तिममा छनोट समितिको सिफारिसमा एरिनालाई चयन गरिएको जनाइएको छ । 

अस्ट्रेलियाली प्रशिक्षक म्याट रसले राष्ट्रिय टोलीबाट राजीनामा दिएपछि तीन महिनादेखि पुरुष टोली प्रशिक्षकविहीन थियो ।

को हुन एरिना ?
एरिना इटालियन तथा स्विस अन्तर्राष्ट्रिय प्रशिक्षक हुन् । प्रो लाइसेन्स प्राप्त एरिनाले विभिन्न प्रतियोगितामा ३०० भन्दा धेरै खेलमा प्रशिक्षकको जिम्मेवारी निभाइसकेका छन् । 

तेस्रो एएफसी प्रो लाइसेन्स प्राप्त प्रशिक्षकका रूपमा नेपाल आएका एरिना लाओसको राष्ट्रिय फुटबल टिमका पूर्वमुख्य प्रशिक्षक समेत हुन् । उनले सन् २०२३ मा राष्ट्रिय टिमको जिम्मेवारी सम्हालेका थिए । सोही वर्ष उनी यू–२३ टिमको पनि मुख्य प्रशिक्षक भएका थिए ।  

उनले तीन विभिन्न महादेशमा व्यावसायिक फुटबलमा मुख्य प्रशिक्षकको अनुभव बटुलिसकेका छन् । उनले एसिया र अफ्रिकाका साथै खाडी मुलुकका प्रतियोगिताहरूमा जिम्मेवारी निभाएका हुन् । 

उनले जिम्मेवारी सम्हालेका खाडी मुलुकका प्रतियोगिताहरूमा युनाइटेड अरब प्रो लिग (यूएई) प्रो लिग, यूएई प्रेसिडेन्ट कप र अरब क्लब च्याम्पियनसिप पर्छ । 

एरिनाले जिम्मेवारी सम्हालेको एसियाली प्रतियोगिताहरूमा एफफ यू–२३ च्याम्पियनसिप, चाइनिज सुपर लिग, ओमान प्रोफेसनल लिग, ओमान सुल्तान काबोस कप, एफसी कप र सिंगापुर प्रिमियर लिग छन् । 

उनले अफ्रिकी महादेशीका प्रतियोगितातर्फ काफ च्याम्पियनस लिग, मोरोकन बोटोला प्रो, अल्जेरियन लिग प्रोफेस्नेले, काफ कन्फिडेरेसन कप, बेनिन प्रिमियर लिग र बुर्किना फासो प्रिमियर लिग पर्छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ