सुरु भयो मनसुनपूर्वको वर्षा
थानकोट ।
नेपालमा मनसुनपूर्व (प्री मनसुन) को वर्षा हुन सुरु भएको छ ।
बुधबार रातिदेखि नेपालको पूर्वी भू–भागबाट मनसुनपूर्व झल्काउने गरी वर्षा सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
लामो समय वर्षा नहुँदा राजधानी काठमाडौँसहित देशका प्रमुख घना बस्तीयुक्त सहरमा प्रदूषण उच्च बनेको थियो । वर्षा सुरु भएसँगै नेपालमा व्याप्त प्रदूषण र तुवाँलो कम हुनेतर्फ अग्रसर बनेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार बिहीबार काठमाडौँ उपत्यकासहित बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशसम्म वर्षा भएको छ ।
मौसमविद् सञ्जीव अधिकारीले भन्नुभयो, “बिहीबार र शुक्रबार दिउँसोसम्म अहिले देखिएको वर्षा प्रणालीले विभिन्न भू–भागमा वर्षा गराउने देखिएको छ, यससँगै प्री मनसुनमा पानी पार्ने वातावरण र बादल बन्ने प्रक्रिया थालनी भएको छ ।”
नेपालमा पश्चिमी वायुसँगै पूर्वी भू–भागमा बनेको न्यूनचापीय प्रणालीले वर्षा गराएको जानकारी दिनुभयो । यसअघि नेपालमा बनेको उच्चचापीय प्रणालीले हावा नचल्ने, घाम पनि नलाग्ने वातावरण बनाउँदा धुम्म भएर देशव्यापी रूपमा तुवाँलो र प्रदूषणको अवस्था सिर्जना गरेको थियो ।
बुधबार सङ्खुवासभाको खाँदबारीमा सबैभन्दा बढी ५७ मिलिमिटर वर्षा रेकर्ड भएको छ । त्यस्तै इलाममा पनि ४८ मिलिमिटर वर्षा भएको छ । बिहीबार मध्याह्नदेखि सिन्धुपाल्चोक, पोखरा, लमजुङ, चितवनलगायतका क्षेत्रमा कतै हावाहुरी र कतै मेघ गर्जनसहित वर्षा भएको मौसमविद् अधिकारीले बताउनुभयो ।
शुक्रबार दिउँसोदेखि नै घाम देखिनुका साथै फेरि बादल र वर्षा बनाउने प्रणाली विकास हुन सुरु हुने महाशाखाले औँल्याएको छ । केही दिनपछि फेरि अर्को प्रणाली बलियो बनेको खण्डमा वर्षा हुने सम्भावना रहेको जनाइएको छ । वर्षा प्रणाली सक्रिय भएसँगै हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।















