भारतबाट एलपी ग्यास आपूर्तिमा अवरोध नभएको आयल निगमको स्पष्टीकरण
थानकोट ।
नेपाल आयल निगमले भारतबाट एलपी ग्यासको आपूर्ति नियमित रूपमा भइरहेकाले आपूर्ति प्रणालीमा कुनै अवरोध नभएको जनाएको छ।
शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निगमका प्रवक्ता मनोजकुमार ठाकुरले हालसम्म मागअनुसार नै भारतबाट ग्यास आयात भइरहेको जानकारी दिए। उनका अनुसार बजारमा अभाव देखिएको भन्ने धारणा वास्तविक आपूर्ति समस्याका कारण नभई उपभोक्ताले हल्लाका आधारमा अनावश्यक रूपमा ग्यास सञ्चिति बढाउँदा उत्पन्न भएको हो।
प्रवक्ता ठाकुरले कृत्रिम अभावजस्तो देखिएको अवस्थालाई नियन्त्रणमा ल्याउन तथा वितरण प्रणालीलाई सहज बनाउन हाल केही स्थानमा आधा सिलिन्डर ग्यास वितरणको व्यवस्था सुरु गरिएको बताए। उनले पर्याप्त परिमाणमा ग्यास आयात भइरहेकाले उपभोक्तालाई आवश्यकभन्दा बढी भण्डारण नगर्न आग्रह पनि गरे।
उनका अनुसार अहिलेसम्म मागअनुसार शतप्रतिशत ग्यास आपूर्ति भइरहेको छ। यद्यपि आगामी दिनमा आपूर्ति स्थितिमा के परिवर्तन आउला भन्ने विषयमा भने हालै कुनै निश्चित अवस्था नभएको उनले उल्लेख गरे।
इन्धनको मूल्यसम्बन्धी व्यवस्थाबारे जानकारी दिँदै उनले पेट्रोल र डिजेलको नयाँ मूल्य सूची प्राय: १५-१५ दिनको अन्तरालमा आउने गरेको बताए। तर हवाई इन्धन र एलपी ग्यासको हकमा भने एक महिनाको अवधिमा नयाँ मूल्य सूची प्राप्त हुने व्यवस्था रहेको उनको भनाइ छ। भारतबाट प्राप्त हुने नयाँ सूचीपछि मात्र ग्यासको मूल्य समायोजन गर्ने वा नगर्ने विषयमा निर्णय हुने निगमले जनाएको छ।















