आज सोमबारको माैसम कस्तो रहला ? यस्तो छ विभागको पूर्वानुमान
थानकोट ।
देशका केही स्थानमा आज वर्षाको सम्भावना छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण वर्षा र हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी क्षेत्रमा आंशिक बादल लाग्नेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका केही स्थानमा तथा कोसी, वाग्मती र लुम्बिनी प्रदेशको हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन, चट्याङ, अशिनासहित मध्यम वर्षाको सम्भावना छ । तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
विभागले राति कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा तथा बाँकी प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा र बाँकी हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।















