बोटल तथा जारको पानीको अधिकतम खुद्रा मूल्य तोकियो

Thankot Times

थानकोट ।

सरकारले प्लाष्टिक बोटल तथा जारमा बिक्री वितरण हुने साधारण प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ।

संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसमितिको अध्ययन प्रतिवेदनका आधारमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त मूल्य निर्धारण गरेको हो।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार अब काठमाडौं उपत्यका भित्र १ लिटरको बोटलको पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ तोकिएको छ। त्यस्तै २० लिटरको जारको पानीको अधिकतम खुद्रा मूल्य ४७ रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी काठमाडौं उपत्यका बाहिर १ लिटरको बोटलको पानीको अधिकतम खुद्रा मूल्य २० रुपैयाँ र २० लिटरको जारको पानीको अधिकतम खुद्रा मूल्य ६० रुपैयाँ तोकिएको विभागले जनाएको छ।

विभागका अनुसार तोकिएको मूल्यभन्दा बढी रकममा प्रशोधित पानीको बोटल वा जार बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा उपभोक्ता हित संरक्षण नियमावली, २०७६ बमोजिम सम्बन्धित विक्रेतामाथि कारबाही गरिनेछ।

साथै विभागले आम उपभोक्तालाई तोकिएको मूल्यभन्दा बढी रकम तिरेर पानी खरिद नगर्न आग्रह गरेको छ। कसैले जबरजस्ती बढी रकम लिन खोजेमा विभाग, मातहतका कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय वा स्थानीय तहमा सूचना दिन पनि अनुरोध गरिएको छ।

विभागले उपभोक्ताको हकहित संरक्षणमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *