आज घोडेजात्रा पर्व मनाइँदै, काठमाडाैं उपत्यकामा सार्वजनिक बिदा
थानकोट ।
काठमाडौँ उपत्यकामा बुधबार परम्परागत घोडेजात्रा पर्व मनाइँदै छ ।
यस पर्वलाई पिशाच चतुर्दशी पनि भनिन्छ । प्रत्येक वर्ष चैत कृष्ण औँसी तिथिमा काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमसहित मनाउने गरिन्छ ।
किंवदन्ती अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय तिनमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । यसै गरी सहरका बालबालिकामाथि खतरा नहोस् भनी राति त्यही रुखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।
संस्कृतिविद् गोविन्द टन्डनले टुँडिखेलमा घोडेजात्रा गरिनुको कारण गुरुमापा भन्ने राक्षसको बास भएको हुनाले त्यसको आत्मालाई उठ्न नदिन हो भन्नुभयो । वर्षको एक पटक टुँडिखेलमा घोडा दौडाइदियो भने सबै ठिक हुन्छ भन्ने आशय भएको उहाँले बताउनुभयो । टन्डनका अनुसार “पहिला घोडेजात्रा मनाउन सीमित साधनको प्रयोग गरिन्थ्यो । सीमित साधन हुँदा घोडेजात्राको ठुलो महत्व हुन्थ्यो । मान्छेहरू घोडेजात्रा हेर्न परिवारसहित जाने भएकाले टुँडिखेलमा भिडभाड लाग्ने गथ्र्याे । टुँडिखेलको चारैतिरको बारमा मान्छेले खुट्टा टेक्ने ठाउँ पाउन गाह्रो हुन्थ्यो । अझ रुखको माथि चढेर पनि मान्छेहरू घोडेजात्रा हेर्ने गर्थे ।” उहाँका अनुसार पछिल्ला दिनमा भने मनोरञ्जनका अनेक साधन आएपछि घोडेजात्राको महत्व कम हुँदै गएको भान हुन थालेको छ ।
काठमाडौँ उपत्यकाको तीन सहरमा भव्य रूपमा घोडेजात्रा मनाइने गरिन्छ । तीन दिन चल्ने सो चाडको अन्तिम दिन चैत शुक्ल परेवाको दिन मातृका देवीका खट सहरमा परिक्रमा गराउने र छ वटा गल्लीबाट ल्याई असन चोकमा सात वटा खट घुमाउने चलन छ । यस कामलाई सप्तमातृकाको आपसमा ढोगभेट भएको पनि भनिन्छ भन्ने किंवदन्ती छ ।















