विद्यार्थी र युवालाई लक्षित गर्दै ग्लोबल मनी विक २०२६ कार्यक्रम सञ्चालन गर्दै ग्लोबल आईएमई बैंक

Thankot Times

थानकोट ।

ग्लोबल आईएमई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा मुलुकका सातवटै प्रदेशमा विद्यार्थी र युवालाई लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको छ।

बैंकले मार्च १६ देखि मार्च २२, २०२६ सम्म आफ्नो विभिन्न शाखा कार्यालयमार्फत “स्मार्ट मनी टक्स” नाराका साथ वित्तीय तथा डिजिटल साक्षरतामा केन्द्रित कार्यशाला, प्रशिक्षण र जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

यसका अतिरिक्त, वित्तीय साक्षरतासम्बन्धी सामग्रीहरू उत्पादन गरी बैंकका आधिकारिक सामाजिक सञ्जालमार्फत समेत प्रसारण गरिनेछ।

वित्तीय साक्षरता अभिवृद्धिका लागि बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयमार्फत विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस आर्थिक वर्षमा हालसम्म ७० भन्दा बढी शाखा कार्यालयहरूले वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरिसकेका छन्। कार्यक्रम अन्तर्गत बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी तथा वित्तीय अनुशासनसम्बन्धी जानकारी दिइनेछ।

ग्लोबल आईएमई बैंकलाई ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४बाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित गरिसकेको छ।

बैंकले देशभर ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखा रहित बैंकिङ सेवा केन्द्र, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, साथै ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

त्यसैगरी, बैंकले नेपालभित्र मात्र नभई संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत र जोर्डन लगायतका देशबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *