आज बिहीबारको मौसम पूर्वानुमान जान्नुहोस
थानकोट ।
देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।
मेघगर्जनसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको हो ।
पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण विभिन्न स्थामा हावाहुरी, मेघर्गन, असिना र वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ र असिनासहित मध्यम वर्षासँगै हिमपातको सम्भावना छ ।
कोसी र वाग्मती प्रदेशको पहाडी र हिमाली भू-भागलगायत सुदूरपश्चिम प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन/चट्याङ तथा असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
विभागले राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, वाग्मती र कोसी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी तराई भू-भागमा आंशिक बादल रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित असिना पानी पर्नेछ । साथै मध्यम वर्षा र हिमपातको पनि सम्भावना छ ।
वाग्मती र कोसी प्रदेशको हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ/असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना छ ।
यसैबीच, पश्चिमी वायु पुनः थप सक्रिय हुँदै छ । शुक्रबार र शनिबार पश्चिम वायु पुनः थप सक्रिय हुँदा सुदूरपश्चिमदेखि कोसी प्रदेशसम्म हावाहुरी, असिना पानी र उच्च हिमाली क्षेत्रमा हिमपातको बलियो सम्भावना रहेको जलवायुविज्ञ धर्मराज उप्रेती बताउँछन् ।
पश्चिमी वायुको प्रभाव भारतको दिल्लीमा भने बुधबारदेखि नै देखिइसकेको छ । यो प्रणाली बिस्तारै नेपालतिर सर्दै आज साँझसम्म सुदूरपश्चिममा आइपुग्नेछ । यसको मुख्य प्रभाव शुक्रबार र शनिबार पर्ने उप्रेतीको भनाइ छ ।















