आज र भोलि ठूलो हावाहुरीसहित वर्षा र हिमपात हुने सम्भावना

Thankot Times

थानकोट ।

देशका विभिन्न प्रदेशमा आज हावाहुरीसहित वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ ।

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव बढ्दा हावाहुरी र वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी, कोसी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी   प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एकदुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति देशभर अधिकांश स्थानमा बादल लाग्ने बताएको छ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ /असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले प्रस्ट पारेको छ ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज देशका विभिन्न स्थानमा ठूलो हावाहुरी तथा वर्षा हुने भएकाले विशेष काम नपरी यात्रामा ननिस्कन अनुरोध गरेको छ ।

आजबाट दाङ र नेपालगन्जसहित लुम्बिनीका तराई क्षेत्रआसपासका जिल्लामा तथा भोलि पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरानआसपासका जिल्लामा तीव्र हावाहुरी (झन्डै ११९ किमि प्रतिघण्टा) चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

प्रि–मनसुनको अवधि रहेकाले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुनेलगायत जोखिम रहन्छ ।

“हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोत बन्द गर्न, सवारीसाधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भीडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गर्दछ,” प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तारमुनि नबस्न, बिजुलीको तार लत्रिएको छ भने नछुन प्राधिकरणको  आग्रह छ । उत्त, समयमा विद्युतीय उपकरण नचलाउन एवं जोखिमयुक्त स्थानमा नबस्न पनि प्राधिकरणको सुझाव छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *