लुम्बिनी पिस म्याराथन: भेट्रान दौडमा कीर्तिपुरका धर्म पहिलो, चन्द्रागिरि रामचन्द्र दोश्रो, रेवत तेस्रो
थानकोट ।
त्रिभुवन आर्मी क्लबका विनोद रोकायाले शनिबार (चैत ७) चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२६ मा पहिलो स्थान हासिल गरेका छन् । महिला हाफ म्याराथनमा आर्मीकै पूर्णलक्ष्मी न्यौपाने विजेता बनिन् ।
बौद्ध तीर्थस्थल लुम्बिनीमा आयोजित प्रतियोगितामा आर्मी क्लबको वर्चस्व रह्यो । म्याराथनमा शीर्ष तीन स्थान आर्मीकै खेलाडीले प्राप्त गरे ।
विनोदले दुई घण्टा १७ मिनेट ५५ सकेन्डमा दौड पूरा गरी पहिलो स्थान हालिस गरेका हुन् । दोस्रो भएका सुशीलकुमार शाहीले दुई घण्टा १८ मिनेट १६ सकेन्डमा दौड पूरा गरे । आर्मीकै नरेन्द्रसिंह राउत दुई घण्टा १९ मिनेट ५८ सकेन्ड समयसहित तेस्रो भए ।
पुरुष म्याराथनका विजेता विनोदले तीन लाख ५० हजार, दोस्रो भएका सुशीलले दुई लाख ५० हजार र तेस्रो स्थानमा रहेका नरेन्द्रले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
महिला हाफ म्याराथनमा पूर्णलक्ष्मीले दाबेदार सन्तोषी श्रेष्ठलाई निराश बनाउँदै उपाधि जितिन् । पूर्णलक्ष्मीले एक घण्टा १७ मिनेट १० सकेन्ड समय लगाएर दौड पूरा गरिन् । पछिल्ला संस्करणकी विजेता सन्तोषीले उपविजेतामा चित्त बुझाइन् । पछिल्लो संस्करणमा सन्तोषीसँग पछाडि परेपछि पूर्णलक्ष्मी दोस्रो भएकी थिइन् । यसपटक आर्मीकै निशा सार्की तेस्रो भइन् ।
महिला हाफ म्याराथन विजेता पूर्णलक्ष्मीले एक लाख ५० हजार, उपवजेता सन्तोषीले एक लाख र तेस्रो भएकी निशाले ८० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
यस्तै, भेट्रान्स पाँच किमि दौडमा धर्म महर्जनले पहिलो स्थान हासिल गरे । उक्त दौडमा रामचन्द्र श्रेष्ठ दोस्रो र रेवतबहादुर दाहाल तेस्रो भए ।
पुरुष पाँच किलोमिटर खुला दौडमा नेपाल पुलिस क्लबका नागेश्वर अहिर पहिलो, आर्मीका रुपेश कार्की दोस्रो र भारतका प्रिन्स निसाद तेस्रो भए । महिला पाँच किलोमिटर दौडमा दीपशिखा शाही, स्वस्तिका शाही र अन्तिमा बुढा शीर्ष तीन स्थानमा रहे ।
पाँच किलोमटर ब्वाइजमा युवराज बुढाले पहिलो, रमेश बुढाले दोस्रो र अरविन्दकुमार यादवले तेस्रो स्थान हासिल गरे ।
म्याराथनकै अवसरमा पारेर तीन किलोमिटरको वाकाथनको पनि आयोजना गरिएको थियो । पिस म्याराथन नेपाल ओलम्पिक कमिटीको आयोजना तथा चिनियाँ राजदूतावासको सहयोगमा गरिएको हो ।















