काठमाडाैं-१० मा १ भोटका लागि एमालेले २३०, काँग्रेसले १७३, रास्वपाले २० रुपैयाँ खर्चिए
थानकोट ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएका उमेदवारहरूले खर्च विवरण सार्वजनिक गर्ने क्रम जारी छ ।
उमेदवारहरूले चुनावमा भएको खर्चको विवरण निर्वाचन आयोगमा बुझाएको निस्सा सामाजिक सञ्जालमा सार्वजनिक गर्नुपर्ने निर्वाचन कानूनमा बाध्यकारी व्यवस्था छ ।
निर्वाचन आयोगले उम्मेदवारहरूले गरेको निर्वाचन खर्च पारदर्शी बनाउन विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको हो ।
सार्वजनिक विवरण अनुसार काठमाडाैं क्षेत्र नं. १० राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार प्रदिप विष्टले कूल ७ लाख ४९ हजर १०६ रुपैयाँ चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छन् ।
यस्तै, नेपाली नेपाली कांग्रेसका उमेदवार हिमाल कार्कीले कूल १४ लाख ४ हजार सात सय तीस रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन् । नेकपा एमालेका विनोद श्रेष्ठले ११ लाख १८ हजार २ सय ९१ रुपैया पैसा ५८ चुनावी खर्च सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
यस क्षेत्रमा रास्वपाका विष्टले ३७ हजार ४ सय ६९ मत पाउँदै संसदको टिकट काटेका थिए । उनले प्राप्त गरेको कूल मत र खर्चको अनुपात हिसाब गर्दा प्रति मत १९।९९ रूपैयाँ खर्च भएको देखिन्छ ।
यस्तै, नेपाली नेपाली कांग्रेसका उमेदवार हिमाल कार्कीले ८१०० मत पाएका छन् । कुल मतदाता संख्या ८३३०१ रहेको काठमाडाैं क्षेत्र नं. १० मा खसेको ६०१५१ मत मध्ये ५८०५८ मत सदर भएको थियो जसमा कार्कीको पक्षमा ८१०० मत खसेको छ । उनले निर्वाचनमा जमानत जोगाएका छन् । उनले प्राप्त गरेको कूल मत र खर्चको अनुपात हिसाब गर्दा प्रति मत १७३।४० रूपैयाँ खर्च भएको देखिन्छ ।
यस्तै, नेकपा एमालेका विनोद श्रेष्ठले ४८६४ मत पाए । कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उनको जमानत जफत भएको छ । उनले प्राप्त गरेको कूल मत र खर्चको अनुपात हिसाब गर्दा प्रति मत २२९।९ रूपैयाँ खर्च भएको देखिन्छ ।
यस क्षेत्रमा नेकपाकी रुपा महर्जन, राप्रपाका बलराम थापासहित २३ उमेदवारको जमानत जफत भएको छ ।
















