साफ यू-२० च्याम्पियनसिपः नेपालको विजयी सुरुवात

Thankot Times

थानकोट ।

नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

नेपालले सोमबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भुटानविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको हो ।

नेपाललाई जित दिलाउन सुजन डंगोल र सुवास बमले १-१ गोल गरे । भुटानका लागि घेन्डुप ग्याल्टसेनले १ गोल फर्काए ।

खेलको पाँचौँ मिनेटमा सुजनको गोलमार्फत नेपालले अग्रता लिएको थियो ।

आफ्नै टोलीका खेलाडीले दिएको ब्याक पासलाई  भुटानी गोलकिपर तानदिन पेन्जोरले समातेपछि नेपालले ‘इनडाइरेक्ट फ्रिकक’ पाएको थियो ।

उक्त अवसरमा जोन विष्टले दिएको ब्याक पासलाई सुजनले पोस्टको दिशा दिए ।

सुवासले ५२औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । उनले बक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो ।
ग्याल्टसेनले ८३औँ मिनेटमा गोल गर्दै भुटानलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल हुन सकेन् ।

जितसँगै समूह ‘ए’ को नेपालले ३ अंक जोडेको छ । भुटानका लागि भने प्रतियोगिताको सुरुवात सुखद रहन सकेन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *