प्रधानमन्त्रीको शपथमा हुने छैनन् विदेशी राष्ट्रका सरकार प्रमुख
थानकोट ।
प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा विदेशी राष्ट्रका सरकार प्रमुखहरूलाई बोलाउने कुनै तयारी छैन् ।
१३ चैतमा बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय छ ।
उक्त शपथ समारोहमा छिमेकी देशबाट पाहुना बोलाउने तयारी रहेको भन्दै सामाजिक सञ्जालहरूमा चर्चा रहेको छ ।
तर, परराष्ट्र मन्त्रालयले स्रोतले प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा विदेशी राष्ट्रबाट पाहुना बोलाउने गरी कुनै तयारी नभएको बताएको छ । प्रधानमन्त्रीको शपथ ग्रहणको तयारी राष्ट्रपति कार्यालयबाट हुने गरेको छ ।
राष्ट्रपति कार्यालय स्रोतले पनि शपथ समारोहमा कुनै देशका सरकार प्रमुख वा उनका प्रतिनिधिको सहभागिता रहनेबारे सरकारका तर्फबाट कुनै जानकारी नआएको बताएको छ ।
‘प्रधानमन्त्री कार्यालयबाट १३ चैतमा शपथ हुने सम्मको जानकारी आएको छ । त्यसको तयारीमा राष्ट्रपति कार्यालय जुटेको छ,’ राष्ट्रपति कार्यालयका एक जना अधिकारीले भने, ‘प्रधानमन्त्रीका शपथका बेलामा विगतमा गरिने तयारी नै यहाँबाट भइरहेको छ ।’ प्रधानमन्त्रीको शपथ समारोहमा राष्ट्रपति कार्यालयले बिदा हुनै लागेका प्रधानमन्त्री, मन्त्री, पूर्व प्रधानमन्त्रीहरु, संघीय संसद्का सबै सांसदहरु, संवैधानिक निकायका पदाधिकारी, सचिव, सुरक्षा निकायका प्रमुख, काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखहरूलार्य निमन्त्रणा पठाउने गर्छ । यसपटक पनि त्यही अनुसारको तयारी भइरहेको ती अधिकारीले जानकारी दिए । रास्वपाका अन्तर्राष्ट्रिय विभागका प्रमुख शिशिर खनालले पनि शपथ ग्रहण समारोहमा बाहिरबाट अतिथि बोलाउने कुनै तयारी नरहेको बताएका छन् ।
प्रतिनिधि सभाको २ सय ७५ सिटमा रास्वपाले १ सय ८२ सिट जितेको छ । रास्वपाले बालेन्द्र शाहलाई भावी प्रधानमन्त्री भनेर जनतासँग मत मागेको थियो । संसद्मा रास्वपाले स्पष्ट बहुमत ल्याएकाले आगामी प्रधानमन्त्री शाह बन्ने निश्चितप्राय छ । भारतमा सन् २०१४ मा कांग्रेस सरकारलाई विस्थापित गर्दै भाजपका नरेन्द्र मोदी प्रधानमन्त्री बन्दै गर्दा दक्षिण एसियाका देशहरूका सरकार प्रमुखलाई शपथ ग्रहण समारोहमा बोलाएका थिए । त्यसयता उनले आफ्नो तीन वटा शपथ ग्रहण समारोहमा छिमेकी सरकारका प्रमुखहरुलाई बोलाएका छन् । मोदीको तीनवटै शपथ ग्रहण समरोहमा नेपालबाट प्रधानमन्त्रीको सहभागिता रहेको थियो ।
बांगलादेशमा जेन-जी आन्दोलनपछि सत्ता उलटफेर भएको छ । त्यहाँ १८ महिनाको अस्थिरतापछि १२ फेब्रुअरी २०२६ मा आमचुनाव सम्पन्न भएको छ । तारिक रहमानको नतृत्वमा रहेको बंगलादेश राष्ट्रवादी दल (बीएनपी) ले दुईतिहाइ बहुमतका साथ भारी मतले जित हासिल गर्यो । रहमानको शपथ समारोहमा पनि नेपालले निमन्त्रणा पाएर परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी भएका थिए । नेपालले भने अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीको शपथ समारोहमा विदेशबाट अतिथि बोलाएको पाइँदैन । तात्कालीन राजा वीरेन्द्र शाहको २०३२ सालमा भएको राज्याभिषेकको समारोहमा विदेशी पाहुनालाई आमन्त्रण गरिएकोबाहेक प्रधानमन्त्रीको शपथ समारोहमा त्यसरी बाहिरका पाहुनालाई बोलाइएको पाइँदैन् ।















