नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ आज हुने

Thankot Times

थानकोट ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुनेछ । संघीय संसद सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ ।

नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।

संघीय संसद सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्वीर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टाअगावै उपस्थित हुन आग्रह गरेको छ । सचिवालयले औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थितिका लागि यसअघि नै आग्रह गरेको थियो ।

बहुउद्देश्यीय हलमा आवश्यक सिट, रोष्टम, सभामुख आसन, महासचिव, सचिव, सचिवालय बस्ने ठाउँलगायतको व्यवस्थापन गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ