नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्ने, फोरजीमा जान आग्रह
थानकोट ।
नेपाल टेलिकमले निकट भविष्यमा थ्रीजी सेवा बन्दको तयारी गरेको छ ।
टेलिकमले आफ्ना थ्रीजी ग्राहकलाई फोरजीमा सिम रुपान्तरण गर्न आग्रह गरेको छ ।
टेलिकमका अनुसार, हाल टुजी वा थ्रीजी मात्र सपोर्ट गर्ने पुराना सिम प्रयोग गरिरहेका ग्राहकलाई सन्देश तथा भ्वाइस कलमार्फत सिम परिवर्तन गर्न सूचना सम्प्रेषण गरेको जनाएको छ ।
ग्राहकले नजिकको नेपाल टेलिकम कार्यालयमा गई आफ्नो सिम निःशुल्क रूपमा फोरजी सिममा परिवर्तन गर्न सक्ने कम्पनीले जनाएको छ ।
सिम परिवर्तनका लागि ग्राहकले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात जस्तै नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।
यससँगै, फोरजी सेवा सपोर्ट गर्ने सिम प्रयोग गरिरहेका ग्राहकहरूले स्टार ४४४ ह्यास डायल गरी फोरजी तथा भोल्टे सेवा सक्रिय गर्न सक्ने जानकारी पनि टेलिकमले दिएको छ ।
टेलिकमले सेवा सुधार र आधुनिक प्रविधि विस्तारका लागि फोरजी सेवामा रूपान्तरणलाई तीव्रता दिएको जनाएको छ ।















