भोलि शुक्रबार कीर्तिपुरदेखि मातातिर्थसम्म पैदल सांगितिक यात्रा हुँदै
थानकोट ।
भोलि शुक्रबार (चैत्र १३) कीर्तिपुरदेखि मातातिर्थसम्म पैदल सांगितिक यात्रा कार्यक्रम आयोजना हुने भएको छ ।
३ पटक गिनिज बुकमा रेकर्ड राख्न सफल फ्रेन्च एकर्डियन वाद्यवादक क्रिस्टेल डे फ्रान्सेचीले कीर्तिपुरस्थित बाघभैरव मन्दिरदेखि चन्द्रागिरि नगरपालिका-०८ मातातिर्थस्थित जंगल महल वेलनेस रिसोर्टसम्म १० किलोमिटर लामो पैदल सांगितिक यात्रा गर्ने भएकी हुन् ।

बिहान १० बजे सुरु हुने सो सांगीतिक यात्रा कीर्तिपुर-तीनथाना विष्णुदेवी मन्दिर- मच्छेनारायण मन्दिर- बाैथली चोक- मातातिर्थ मन्दिर हुँदै जंगल महल रिसोर्टसम्म जारी रहनेछ ।
पैदल यात्रासँगै संगीत, खोज र साझा आनन्दको एक अद्वितीय र कालातीत क्षणमा सहभागी हुन क्रिस्टेलले सबैमा अनुरोध गरेकी छन् ।
उनले २०२४ जुन २२ का दिन एकर्डियन बजाउँदै सबैभन्दा लामो म्याराथन (८० घण्टा ५३ मिनेट २८ सेकेन्ड) सम्पन्न गरेकी छन् । यो रेकर्ड हासिल गर्ने क्रिस्टेलको तेस्रो पटक हो र उनले आफ्नो अघिल्लो समयमा ५ घण्टाभन्दा बढी सुधार गरेकी हुन् ।
एकर्डियन एक हातले ‘बेलोज’ (हावा भर्ने भाग) थिचेर र अर्को हातले कुञ्जी वा बटनहरू दबाएर बजाइने पश्चिमा शैलीको ‘सुषिरवाद्य’ (हावाबाट बज्ने) बाजा हो। यो बाजाको प्रयोग नेपाली लोक तथा आधुनिक सङ्गीतमा पनि लोकप्रिय छ, विशेष गरी पुरानो समयका गीत र अर्केस्ट्रामा यसको विशेष स्थान रहेको पाइन्छ।
नेपालमा सन् १९८० को दशकको वरिपरि रेडियो नेपालमा जिम्बा जस्ता कलाकारहरूले यसको प्रयोगलाई लोकप्रिय बनाएका थिए।















