अभूतपूर्व धक्का खायौँ तर हामी गलत छैनौँ : केपी ओली
थानकोट ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम अनपेक्षित, अपत्यारिलो र जादुमय देखिएको टिप्पणी गरेका छन् ।
बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेबाट निर्वाचित सांसदलाई सम्बोधन गर्दै ओलीले यो निर्वाचनमा अभूतपूर्व धक्का खाएको पनि बताए ।
‘निर्वाचन सकिएको छ । अहिले निर्वाचनको सन्दर्भ, निर्वाचन प्रक्रिया र परिणामको सन्दर्भमा धेरै टिप्पणी गर्ने बेला भएको छैन,’ पूर्व प्रधानमन्त्री ओलीले एमाले नबिग्रिएको पनि बताए ।
‘हामी बिग्रेका छैनौ, वैचारिक हिसाबले सही ठाउँमा छौँ, सांगठानिक हिसाबमा अलि कमजोरी भयो । हाम्रा सही नीतिमा भएको प्रहार झेल्न सकेनौ, तर अपराध गरेका होइनौ कमीकमजोरी भएका छन् ।’ ओलीले निर्वाचनको प्रसङ्ग कोट्याउँदै भने, ‘यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ ।’
घृणाको राजनीति गर्नेहरूलाई धेरैतिरको सहयोग भएको दाबी गर्दै ओलीले आफूहरूले राखेको दृष्टिकोण र अडान सही रहेको दाबी समेत गरे ।
उनले पार्टीका सांसदहरूलाई पार्टीले देशको विचार अघि बढाएकाले ती भन्दाबाहेक विषयमा संसदमा नबोल्न निर्देशन दिए । ‘हामी भ्रम फैलाउने होइन, जनतालाई सचेत बनाउने काममा हामी चुक्नु हुँदैन । अगाडि बढ्नुपर्छ,’ ओलीको भनाइ छ ।















