लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
थानकोट ।
नेपाल प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।
उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, काठमाडौं महानगरपालिका–२६, ठमेल नरसिंह चोकस्थित सिटी हेभन होटलबाट लागुऔषध खैरो हेरोइनसहित सिरहा नगरपालिका–८ का २९ वर्षीय रक्कीकुमार यादवलाई पक्राउ गरिएको छ ।
यसैगरी, काठमाडौं महानगरपालिका–१६ नयाँ बजार फलफूल चोकबाट लागुऔषध पोलेनसहित एकजना, भद्रपुर नगरपालिका–५, मेचीपुलबाट खैरो हेरोइनसहित एकजना, गुलरिया नगरपालिका–११ गणेशपुरबाट एकजना, लहान नगरपालिका–३ बाट एकजना र तुलसीपुर उपमहानगरपालिका–१८, बेलझुण्डीबाट दुईजनालाई पक्राउ गरिएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–६, बागमाराबाट एक, कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट दुई, धरान उपमहानगरपालिका–१६, पानीट्यांकीबाट ट्रामाडोल र स्पास्पेन ट्याब्लेटसहित दुई तथा सोही उपमहानगरपालिका–२०, विष्णुपादुका पुलबाट १७ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको जनाइएको छ ।















