प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव प्रदीप परियार

Thankot Times

थानकोट ।

प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को निजी सचिवमा सहसचिव प्रदीप परियार नियुक्त भएका छन् ।

परियारले आइतवारदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सचिवालयको काम शुरु गरेका हुन् ।

युवा सहसचिव परियार बालेन काठमाडौँ महानगरपालिकाको मेयर हुँदा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए । २०८० माघ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउने निर्णय गरेको थियो ।

महानगरमा सात महिना २५ दिन कार्यरत रहँदा उनले ‘प्रमुख प्रशासकीय अधिकृतको प्रगति प्रतिवेदन’ हस्तान्तरण गर्दै कार्यसम्पादनको नयाँ अभ्यास अघि बढाएका थिए । उनका कार्यकालमा महानगरपालिकाको खर्च व्यवस्थापनमा पछिल्ला पाँच वर्षयताकै सुधार देखिएको तथ्यांकबाट देखिएको थियो । तर तत्कालीन सरकारले समय नपुग्दै उनको सरुवा गरी दिएको थियो ।

मन्त्रिपरिषद्को भदौ २७ गतेको निर्णयअनुसार परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको थियो । त्यसपछि उनले केही समय सूचना तथा प्रसारण विभागको महानिर्देशकको जिम्मेवारी पनि सम्हालेका थिए ।

प्रधानमन्त्री बनेपछि शाहले युवा तथा कान्छा सहसचिवका रूपमा परियारलाई सचिवालयको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्रीको निजी सचिवमा नेपाल सरकारको सहसचिव रहने व्यवस्था छ ।

यसअघि नै प्रधानमन्त्री शाहले आफ्नो सचिवालयमा कुमार व्यञ्जनकार, असिम शाह, सुदीप ढकाल, सुवास शर्मा, विवेक मिश्रलगायतलाई नियुक्त गरिसकेका छन् र उनीहरूले कार्यसम्पादन शुरु गरिसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ